काठमाडौंमा कांग्रेसको सभा

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेताहरूले माओवादी इमानदार भए १४ जेठमा संघीयतासहितको संविधान आउने बताएका छन् । कांग्रेसले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत आइतबार राजधानीको वसन्तपुरमा आयोजित सभामा नेताहरूले जातीय आधारमा भने प्रदेशहरू निर्माण हुन नसक्ने प्रस्ट पारे ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादी शान्तिप्रक्रिया र संविधान निर्माणमा इमानदार नभएकै कारण शान्ति र संविधान अन्योलमा परेको आरोप लगाए । माओवादी पछिल्लो सहमतिप्रति इमानदार भएर चैत मसान्तभित्र शान्तिप्रक्रिया टुंग्याए १४ जेठभित्र संविधान जारी हुन सक्ने उनले औल्याएका थिए । उपसभापति पौडेलले माओवादीले शिविरबाट लडाकुका कमान्डरलाई राजधानी बोलाएर फेरि शंका उब्जिएको उल्लेख गर्दै भने, ‘३० चैतभित्र लडाकु, हतियार नेपाली सेनाको मातहतमा जाने कुरामा फेरि प्रश्न उठेको छ ।’ माओवादीले अझै शान्तिप्रक्रिया पूरा गर्न विभिन्न बहानामा आलटाल गरिरहेको उनले आरोप लगाए । संविधान जारी हुनुभन्दा पहिले शान्तिप्रक्रिया पूरा हुनुपर्नेमा उनको जोड थियो ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ३० चैतभित्र शान्तिप्रक्रिया टुंग्याउन माओवादी नेतृत्वलाई आग्रह गरे । अर्का केन्द्रीय सदस्य नरहरि आचार्यले माओवादी अहिले पनि चैत मसान्त टार्ने पक्षमा रहेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले शान्तिप्रक्रियालाई देखाएर माओवादीले विभिन्न विषयमा बार्गेनिङ मात्र गरिरहेको आरोप लगाए ।
महामन्त्री गएनन्
कांग्रेसले १९ देखि २६ चैतमा ७५ वटै जिल्लामा आयोजना गरेको जागरण अभियानका क्रममा महामन्त्री प्रकाशमान सिंह भने आºनै जिल्लाको कार्यक्रममा सहभागी भएनन् । काठमाडौं कांग्रेसले सभाको प्रचारका लागि प्रयोग गरेको पोस्टरमा उनको नाम उल्लेख नगरेका कारण सिंह सभामा उपस्थित नभएको स्रोतको दाबी छ । उनी पर्यटन बोर्डको कार्यक्रममा गएका थिए । काठमाडौं कांग्रेसका एक नेताले भने, ‘महामन्त्रीजीलाई खबर पनि अलि पछि भयो, प्रचारका लागि प्रयोग भएको पोस्टरमा पनि उहा“को नाम उल्लेख नभएकाले उपस्थित हुनुभएन ।’ काठमाडौं कांग्रेसले सभाको वक्ताका रूपमा उपसभापति पौडेलका साथै केन्द्रीय सदस्यहरू प्रदीप गिरी, डा. शेखर कोइराला, नरहरि आचार्य र गगन थापाको नाम उल्लेख गरेको थियो । तर, गिरी र थापा पनि कार्यक्रममा उपस्थित थिएनन् ।

प्रतिक्रिया