कहिले उठ्लान् मुकेश ?

काठमाडौं, २६ चैत । ठीक ६ वर्ष बित्यो, उनी मूढोजसरी ओछ्यानमा लडिरहेको । त्यतिबेला १५ वर्षका किशोर थिए, अहिले २१ वर्षका नौजवान भए तर शरीर एउटै ओछ्यानमा बन्दी छ ।
२७ चैत ०६२ । आमा मीरा कायस्थले छोरा मुकेशलाई भनिन्, ‘आज कुकुरलाई भात ख्वाएको छैन, तैंले ख्वाइदे ल ।’ मुकेशले भने, ‘तपाईं नै ख्वाउनुस्, म एकछिन बाहिर
गएर आउछु ।’
मीराले छोराको मुखबाट सुनेको त्यही नै अन्तिम बोली थियो । जनआन्दोलन–२ का क्रममा २६ चैत ०६२ मा काभ्रे नालाका भीमसेन दाहाललाई सुरक्षाकर्मीले गोली हानी पोखरामा मारेपछि हजारौं सडकमा ओर्लिएका थिए । स्थानीय विद्यासागर बोर्डिङ स्कुलमा ८ कक्षामा पढ्ने १५ वर्षीय मुकेश पनि टाउकोमा कात्रो बा“धेर उत्रिए ।
आन्दोलनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्द चलाएको गोली बालक मुकेशको कञ्चटमा लाग्यो र उनी घाइते भए । दिउसो ३ बजे गोली लागेको खबर परिवारले ४ बजे थाहा पाएका थिए । गोली लागेलगत्तै अचेत बनेका मुकेशको होस अहिलेसम्म पनि फर्केको छैन । आङ्खनै सुरमा हात हल्लाउने, बर्बराउने, विभिन्न सामान चलाउनेसम्म गर्न थालेका छन् । पहिले पाइपबाट खुवाउने गरिएकोमा अहिले मुखबाटै खुवाउने गरिएको छ, यत्ति हो । नत्र उनी लडेको मूढोबराबर छन् । न हिडडुल गर्न सक्छन् न आफै खानपिन र दिसापिसाब गर्न ।
मुकेश लडेको आज (सोमबार) ठीक ६ वर्ष अर्थात् २१९० दिन पुगेको छ । उपचारका लागि विभिन्न अस्पतालदेखि स्पर्श थेरापीसम्म धाउदा पनि कुनै सुधार नभएपछि गहिरो चिन्तामा परेको मुकेश परिवार उनको बोलीको अझै प्रतीक्षा गरिरहेको छ । ‘हामीले उपचारका लागि धेरै ठाउ धाइसक्यौं तर सुधार भएन । अझै कुरिरहेका छौं, मुकेशले बोलिदिए, हासिदिए, हिंडिदिए, आफै खानपिनदेखि दिसापिसाब गरिदिए कस्तो हुन्थ्यो,’ आमा मीराले बह पोखिन्, ‘एकपटक ‘ए ममी’ भनेर बोलाएको सुन्न पाए
कस्तो हुन्थ्यो ?’
बनेपाको तीनदोबाटोमा गोली लागेपछि उनलाई तत्काल नजिकको करुण फर्मामा लगियो । त्यसपछि बनेपाकै शीर मेमोरियल अस्पतालमा । त्यहाबाट उनलाई काठमाडौं वीर अस्पताल ल्याइयो । ११ महिना वीर अस्पतालमा, ७ महिना न्युरो अस्पतालमा, ५ महिना अनामनगरको स्पर्श थेरापीमा, ३ महिना स्पार्क थेरापी तथा अन्नपूर्ण न्युरो अस्पताल, शीर मेमोरियल अस्पताललगायत झन्डै ३० महिनासम्म उनको उपचार भयो तर अवस्था उही छ ।
डा. उपेन्द्र देवकोटादेखि इटालीका डाक्टरसमेत आएर उनको उपचारका लागि प्रयास गरे तर सबैले सुधार आउन नसक्ने बताएपछि परिवारजन निराश बने । पछिल्लोपटक हालै आएका भारतको एपोलो अस्पतालका चिकित्सकले विदेश लैजादा पनि उपचार नहुने तर हाल अनुसन्धानमा रहेको एउटा औषधिबाट हुन सक्ने बताएपछि उनीहरूमा झिनो आशा पलाएको छ ।
१५ वर्षको उमेरमा गोली लागेका उनी २१ वर्षका जवान भइसकेका छन् । उनीसगै पढ्ने साथी स्नातक पढ्न थालिसकेका छन् । पहिला उपचारका लागि सरकारसग कराइरहने र आसु बगाइरहने मुकेश परिवार अब रोइकराई गर्न छोडेको छ । ‘छोराका लागि सरकारले धेरै सहयोग गरेको छ । सधैं परिवारले कुरिरहने अवस्था नहुन सक्छ । त्यसकारण छोरालगायतलाई पुनस्र्थापनाका लागि सहयोग गरिदिए हुन्थ्यो भन्ने चाहना छ,’ मुकेशका बाबु कृष्णमान कायस्थले भने । सरकारले मुकेशका लागि प्रतिमहिना १० हजार रुपिया“ भत्ता दिदै आएको छ ।
पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपालदेखि कांग्रेस सभापति सुशील कोइराला, नेता प्रकाशमान सिंह, माओवादी नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता सुरेन्द्र पाण्डेसम्मले उनलाई भेटेर जनआन्दोलनका जीवित व्यक्तित्व र प्रेरणाको स्रोत भनेका छन् । ८ साउन ०६८ मा भेटेका तत्कालीन प्रम खनालले मुकेश जिउदो सहिदजस्तै र जनताको निम्ति प्रेरणाको स्रोत बताएका थिए । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले टिप्पणी लेखेका छन्, ‘मुकेश नेताहरूका लागि जिउदो सहिद हुनुभएको होइन, देशका लागि हुनुभएको हो ।’
मुकेश सुतिरहेको ठाउमा पुग्दा सबैलाई झस्काउछ । सुतेको ठाउकै ब्यानरमा लेखिएको छः
खोइ, हामीले खोजेको लोकतन्त्र
के भ्रष्टता हो लोकतन्त्र ?
खोइ, जनताले चाहेको गणतन्त्र
के भद्रगोल हो गणतन्त्र ?

प्रतिक्रिया