खुमबहादुरले देखाएको सम्पत्तिको स्रोत अपत्यारिलो

काठमाडौं, २६ चैत । सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा नौ वर्षदेखि भ्रष्टाचारमुद्धा खेपिरहेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काले आफ्नो मूल आयस्रोत कृषि उत्पादन र घरजग्गा खरिद बिक्रीलाई देखाएका छन् । तर उनले देखाएको आम्दानी अपत्यारिलो रहेको सरकारी वकिलहरुले जिकिर गरेका छन् ।
दाङ सतबरियाको १० बिघा १० धुर जग्गाबाट सालिन्दा तीन लाख ३५ हजारका दरले १५ वर्ष लगातार आम्दानी भएको खड्काको दाबी छ । कुल आम्दानीको आधा मोहीले लिने र आधा एक लाख ६७ हजार पाँच सय रुपियाँका दरले आफ्नो आम्दानी हुने गरेको तथ्यांक उनले पेस गरेका हुन् ।

०४४ देखि ०५९ सालसम्म लगातार एक लाख ६७ हजार पाच सयका दरले नै आम्दानी हुने दाबीलाई सरकारी वकिलले खण्डन गरेका छन् । सर्वोच्च अदालतमा बहस गर्ने क्रममा उनीहरूले १५ वर्षदेखि एउटै जमिनबाट ठ्याक्कै उत्ति नै आम्दानी हुन नसक्ने जिकिर गरे । ‘१५ वर्षसम्म एउटै जमिनबाट उत्पादित वस्तुको बराबर आम्दानी कसरी भयो ?’ आफ्नो बहसमा सहन्यायाधिवक्ता कृष्ण पौडेलले भने, ‘जुन ठाउमा १० बिघामा ५० हजारभन्दा बढी आम्दानी हुदैन त्यसमा यत्रो आम्दानी भएको छ, कसरी पत्याउनु ?’
खड्काले सो जमिनबाट प्रतिबिघा २० हजारका दरले आम्दानी हुने दाबी गरे पनि जिल्ला कृषि विकास कार्यालय दाङले १६ हजार सात सयका दरले आम्दानी हुने पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ०५९ सालमा पठाएको थियो । कृषि कार्यालयले मूल्यांकन गरेको भन्दा करिब चार हजार प्रतिबिघा बढी आम्दानी खड्काले देखाएका छन् । खड्काले करिब २७ लाख आफ्नो आम्दानीको स्रोत कृषिलाई देखाए पनि सरकारी वकिलहरूले सात लाख ५० हजार मात्र हुन सक्ने जिकिर गरेका छन् ।
त्यसैगरी, खड्काले आफ्नो आम्दानीको अर्को स्रोत घर–जग्गा खरिद–बिक्रीलाई देखाएका छन् । एउटै ठाउको घरजग्गा खरिद–बिक्रीबाट ३६ लाख आम्दानी भएको उनले दिएको विवरणमा उल्लेख छ । ‘१० लाखमा खरिद गरेको जग्गा ३६ लाखमा बेच्दा खुद आम्दानी २६ लाख हुन आउछ तर खड्काले त्यति पनि बुद्धि नपुर्‍याई ३६ लाख नै आम्दानी देखाएका छन्,’ सहन्यायाधिवक्ता पौडेलले भने । यसैगरी, विदेश भ्रमण, सांसद र मन्त्री हुदाको भत्तालाई खड्काले आफ्नो मूल स्रोतका रूपमा देखाएका छन् ।
१५ जेठ ०४८ देखि १८ असोज ०५९ सम्म सार्वजनिक पदमा रहदा दुई करोड ३६ लाख ८६ हजार ६ सय २४ रुपिया ‘गैरकानुनी रूपमा आर्जन गरेको’ ठहर गर्दै अख्तियारले खड्काविरुद्ध मुद्दा चलाएको थियो । अख्तियारले चलाएको मुद्दा विशेष अदालत हुदै सर्वोच्च अदालतमा पा“च वर्षअघि प्रवेश गरेको हो । मुद्दाको अर्को पेसी १५ वैशाखलाई तोकिएको छ ।

प्रतिक्रिया