जातीय राज्य मान्न सकिदैनः कांग्रेस

काठमाडौं, २६ चैत । कांग्रेस नेताहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान बनाउनुपर्ने भन्दै जातीय राज्यको बिरोध गरेका छन् ।

कांग्रेसले आज काठमाडौंमा आयोजना गरेको आमसभाका वक्ताहरुले जातीय राज्यले मुलुकलाई बेफाईदा गर्ने भन्दै पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य बनाउन सुझाव दिएका हुन् ।

राज्य पुनर्संरचना उच्चस्तरीय आयोग बनाउने क्रममा एमाओवादी र एमालेलाई एनजिओ आईएनजिओमा लागेका नेताहरुले प्रभावमा पारेर आफ्ना एजेण्डा प्रवेश गराएको कांग्रेस नेताहरुले आरोप लगाए । उनीहरुले आयोगको प्रतिवेदनमा जनजाती सभासदहरुको संस्था ‘कसकस’ का एजेण्डाले मात्रै प्रवेश पाएको बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ३० चैत भित्र शान्ति प्रक्रिया अन्तर्गतको लडाकुका हतियार सरकारलाई बुझाउने काम भएन भने लोकतान्त्रिक संविधान बन्नेमा आशंका जनाए । उनले माओवादीले अझैपनि शान्ति प्रक्रियाको अन्तर्गतको काम लडाकु समायोजन र हतियार बुझाउने कार्यमा आलटाल गरिरहेको आरोप लगाए ।

हतियार सरकारलाई नबुझाउदासम्म संविधान बन्न नसक्ने पौडेलको भनाई छ । उनले अझैपनि माओवादीले अबरोध नगरे संविधान जेठ १४ मै बन्ने बताए । हतियार राखेर संविधान बनाईए त्यो दिगो र लोकतन्त्रको पक्षमा नहुने पौडेलको भनाई छ ।

केन्द्रीय सदस्य नरहरि आचार्यले पनि संविधान समयमा बनाउनु पर्ने भन्दै कांग्रेस जातीय राज्यका पक्षमा नजाने बताए । उनले जातीय आधारमा बन्ने संघीयताले लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गरे ।

केन्द्रीय सदस्य शेखर कोइराला जातीय राज्यले कसैको हित नगर्ने बताए । उनले माओवादी ईमान्दार भएर सहमति कार्यान्वनय गरे संविधान बन्न कुनै समस्या नरहेको बताए ।

कार्यक्रममा कांग्रेस नेता नवीन्द्र राज जोशी, चक्र ठकुरी, कृष्ण अमात्य, रञ्जित कर्णलगायत आधा दर्जनले जातीय राज्यको बिपक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया