काठमाडौं, २६ चैत । कांग्रेस सभासद् लक्ष्मी परियारलाई गृह जिल्ला उदयपुरमा आज युवाहरूको एक समूहले आक्रमण गरेको छ ।
त्रियुगा नगरपालिका–८, बगाहास्थित सालघारी चौकमा बिहान ५ बजे राजन मगर सहितका युवाहरुको समूहले आक्रमण गरेको अञ्चल प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
ना २ ख ५०७२ नम्बरको परेली यातायातमा काठमाडौंबाट गाईघाट आउँदै गरेकी सभासद् परियारलाई बसमै रहेका मगर र उनका आठ नौ जना साथीले कुटपिट गरेको प्रहरीले जनाएको छ । परियारसँगै बसमा मगरपनि रहेका थिए ।
मगरसँग बाटोमा सभासद् परियारका कान्छा भाइ सन्दिप टेलरसँग वादविवाद भएको विषयलाई लिएर युवाहरूको समूहले कुटपिट गरेको सभासद् परियारले बताईन ।
कुटपिटबाट परियारको अनुहार र तिघ्रामा चोट लागेको छ । युवकहरूको जत्थाले भाइलाई कुट्न थालेपछि बचाउन खोज्दा आफूलाई पनि लात्तले हानेको सभासद् परियारले बताएकी छन् ।
सन्दिप राजविराजस्थित घरेलु कार्यालयका लेखापाल हुन् । सभासद् परियारलाई कुटपिट गर्ने समूहको पहिचान भइसकेकोले तत्काल पक्राउ गरी कारबाही गरिने उदयपुरका प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
सभासद् परियार कांग्रेस क्षेत्र नम्बर–१ उदयपुरको क्षेत्रीय सम्मेलनमा भाग लिन उदयपुर पगेकी हुन् ।
प्रतिक्रिया