प्राधिकरणको रोमिङ प्रस्ताव अन्योलमा

काठमाडौं, २५ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले एउटै सिमकार्डबाट मुलुकभर मोबाइल चलाउन सक्नेगरी सुरु गरेको रोमिङ प्रक्रिया अन्यौलमा परेको छ । प्राधिकरणले ६ महिनाअघि नै यसको प्रक्रिया सुरु गरे पनि सेवाप्रदायकले सक्रियता नदेखाएका कारण अहिलेसम्म ‘राष्ट्रिय रोमिङ निर्देशिका’ जारी हुन सकेको छैन ।
निर्देशिका तयार गर्न प्राधिकरण आफैंले र स्वतन्त्र परामर्शदाताबाट समेत अध्ययन गराएको थियो । प्राधिकरण्ले रोमिङ सेवा खुला गर्न इन्जिनियर ज्ञानेन्द्रमान वैद्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको रोमिङ सम्बन्धी प्रस्ताव प्राधिकरणले सार्वजनिक परामर्श र सुझावका लागि आफ्नो वेबसाइटमा राखेको छ । सुझाव आएपछि निर्देशिका तयार गर्न विज्ञ नियुक्त गरिने प्राधिकरणले जनाएको छ । यसअघि तीन वर्षअघि पनि रोमिङबारे अध्ययन गरिएको थियो ।
निर्देशिका लागू भएपछि कुनै एउटा कम्पनीको मोबाइलसेवाको नेटवर्क नभएमा अर्को कम्पनीको नेटवर्कले स्वतः काम गर्नेछ । यसबाट उपभोक्ताले जुनसुकै सेवा प्रदायकको नेटवर्क कभर भएको क्षेत्रमा जुनसुकै कम्पनीको सेवा उपभोग गर्न सक्नेछन् । सेवाग्राहीले एउटै कम्पनीको सिमबाट जुनसुकै कम्पनीको नेटवर्क कभर भएका क्षेत्रमा मोबाइल चलाउन सक्नेगरी निर्देशिका बनाउन लागिएको प्राधिकरणको भनाइ छ । यसबाट उपभोक्तालाई विभिन्न कम्पनीका सेवा प्रयोगका लागि धेरैवटा सिमकार्ड बोकेर हिड्ने झञ्झट हट्नेछ ।
बेलायत, अमेरिकालगायतका विकसित मुलुकमा यस्तो अभ्यास सफलतापूर्वक सञ्चालन भइरहेको छ । कतिपय मुलुकमा यस्तो व्यवस्था बाध्यात्मकसमेत छ ।
प्राधिकरणको योजना लागू भएमा सीमित नेटवर्क भएका ग्रामीण दूरसञ्चार सेवाप्रदायक र लिमिटेड मोबिलिटी सेवा सञ्चालक सबैभन्दा बढी लाभान्वित हुनेछन् । यसै कारण नेपाल टेलिकम, एनसेल र युटिएल यसको पक्षमा नरहेको बताइएको छ । प्राधिकरणका उपनिर्देशक उदयराज रेग्मीका अनुसार नेटवर्क प्रयोगबापतको शुल्क सम्बन्धित कम्पनीले तय गर्न सक्ने छन् । प्राधिरकणले रोमिङ निर्देशिका जारी गर्न गत नोभेम्बरमै सेवाप्रदायक र अन्य सरोकारवालाहरूसग सुझाव मागेको थियो ।
अहिले रोमिङ सम्बन्धी कुनै व्यवस्था छैन । कुनै कम्पनीको नेटवर्क नभएको ठाउमा पुगेमा अर्को कम्पनीको सिम प्रयोग गर्नुपर्ने अवस्था छ । अहिले देशमा ६ वटा कम्पनीले मोबाइल टेलिफोन चलाइरहेका छन् । यसमध्ये सरकारी कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको नेटवर्क सबैभन्दा सबल छ । दुवै कम्पनीले ७५ वटै जिल्लामा सेवा विस्तार गरिसकेको जनाएका छन् भने युटिएलको ४० जिल्लामा नेटवर्क छ । प्राधिकरणको प्रस्तावअनुसार साना कम्पनीको पहुच पनि रोमिङले गर्दा देशभरि पुग्छ ।

प्रतिक्रिया