बेवारिसेको रेखदेखमा चार प्रहरी

नेपालगन्ज, २५ चैत । मध्यपश्चिमकी डिआइजी पार्वती थापाले तीन महिनादेखि एउटी महिलाको हेरचाहका लागि चार महिला प्रहरीलाई खटाएकी छन् । थापा आफैले उद्धार गरेकी ती महिलाको अहिलेसम्म प्रहरीले परिचय खुलाउन नसके पनि प्रहरीकै कोठामा सुत्ने र प्रहरीकै रासनबाट खाने व्यवस्था मिलाइएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका चार महिला प्रहरीले ती महिलालाई हेरचाह गर्दै आएका छन् । डिआइजी थापाले उद्धार गरेकी महिलाको मानसिक सन्तुलन ठीक छैन । उनलाई कहाबाट उद्धार गरिएको र को हुन् भन्ने नखुलेको डिएसपी रमेश बस्नेतले बताए ।
उपचार गरेर घर फर्काउनाको साटो ती महिलालाई प्रहरीले तीन महिनादेखि आङ्खनै कार्यालयमा राखेको छ । उद्धार गरेर ल्याएयता डिआइजी थापाले ती महिलाबारे केही भनेकी छैनन् ।
‘न अस्पतालमा भर्ना गर्न सकेका छौ, न घर फर्काउन,’ डिएसपी बस्नेतले भने, ‘बेवारिसे महिलाका कारण हैरानी बेहोर्नुपरेको छ ।
भाग्ने डरले उनी सुतेका बेला समेत उनी कोठा बाहिर एक महिला प्रहरी ड्युटीमा खटाइने गरिएको छ । ती महिला महिला प्रहरीको कोठामा सुत्दै आएकी छन् ।
मानसिक सन्तुलन गुमेको भनिए पनि प्रहरी कार्यालयमा ती महिलालाई घुम्न दिइएको छ । डिएसपी कार्यालय, प्रहरीका भान्सा कोठा चाहार्ने ती महिलालाई कुनै प्रहरी अधिकतले केही भन्दैनन् । उनको खानासमेत प्रहरीकै रासनबाट व्यवस्था गरिएको छ ।
मानसिक अवस्था ठीक नभएकाले अप्रिय घटना हुने भयमा चार प्रहरी खटाइएको बस्नेतलले बताए । अहिलेसम्म प्रहरीले उनको नामसमेत पत्ता लगाउन सकेको छैन । ‘कहिले सुशीला श्रेष्ठ भन्छिन्, कहिले हरिमाया,’ बस्नेतले भने । उनका लागि चार महिला प्रहरी खटाउदा कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।
‘माथिको निर्देशन भएकाले ती महिलाका बारे के गर्ने भनेर सोच्न सकिरहेका छैनौ,’ डिएसपी बस्नेतले भने, ‘अपराध नियन्त्रणतिर भन्दा उनलाई केही हुन्छ कि भनेर सोच्नुपरेको छ ।’

प्रतिक्रिया