ध्यान शान्ति र संविधानमा केन्द्रीत गरौं

काठमाडौं, २५ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रकृया निष्र्कषमा पुग्नै लागेकाले अब संविधान निर्माणतिर सम्पूर्ण ध्यान केन्द्रीत गर्न सवै राजनीतिक दललाई आह्वान गरेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता सम्वन्धी आयोग लगायतको टुंगो लगाउन भोलि आइतवार तीन दलको वैठक बस्न लागेको भन्दै प्रधानमन्त्री भट्टराईले सेना समायोजन बिशेष समितिले पनि सोही दिन सेना समायोजनका बाँकी कुरा टुंग्याउने बताए ।

उनले सेना समायोजनको बाँकी काम टुङगाएपछि त्यसपछिका दिनहरुमा सम्पूर्णरुपले संबिधान निर्माणमा केन्द्रीत हुनुपर्ने बताए ।

भोलि आइतबार २६ गतेदेखि ३० गतेसम्म सबै राजनीतिक पार्टीहरुवीच नियमित र वृहद् सम्वाद गरि सहमतिमा पुग्नुको विकल्प नभएको प्रधानमन्त्री भट्टराईको भनाई छ ।

आगामी ३० गते भित्रै शान्ति प्रक्रियालाई टुंग्याउनु पर्ने र संविधान निर्माणका काममा पनि आधारभूत सहमतिमा पुग्नुको विकल्प नभएको प्रधानमन्त्री भट्टराईको ठहर छ ।

संविधान जारी गर्नुपर्ने मिति अर्थात जेठ १४ गते आउन करिव ५० दिनमात्र बाँकी रहेकाले झिनामसिना कामलाई पर राखि समग्र राष्ट्रिय महत्व बोकेको संबिधान निर्माण प्रक्रियामा छलफल गर्नुपर्ने उनले बताए ।

भट्टराईले संबिधान निर्माणका विवादीत बिषयहरुमा सहमति जुटाउने अन्तिम मिति बैशाख ५ गतेसम्म तोकिएकाले त्यसअघि नै राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका महत्वपूर्ण बिषयमा छिटो सहमति जुटाउनुपर्ने बताए । उनले भने, ‘छलफल, सहमति र सहकार्याबाट नै निष्कर्षमा पुग्न सकिन्छ ।’

प्रतिक्रिया