माओवादी नेताहरुको विश्वास छैनः सिटौला

दाङ, २५ चैत । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले समयमै शान्ति प्रक्रिया र संविधान निमार्ण टुङ्गो लाग्नु नसक्नुको मुख्य जड एकीकृत माओवादीका नेताहरु बीचको अविश्वाशका कारण रहेको बताएका छन् ।

राजनीतिमा एक अर्काबीच विश्वासको आवश्यकता रहेपनि एमाओवादीको नेतृत्व तहमा अर्कालाई विश्वास गर्ने परिपाटी नरहेको नेता सिटौलाको आरोप छ ।

प्रेस युनियन दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले शान्ति र संविधान समयमा टुङ्गो नलाग्नुको मुख्य दोषी व्यावहारिक रुपमा माओवादी भएको बताए ।

‘विश्वासले राजनीतिलाई शुद्ध बनाउछ ।’ उनले भने, ‘राजनीतिमा सबै भन्दा ठूलो ताकत विश्वास हो ।’

एमाआवादीका कारण नेपाली राजनीतिमा विश्वास टुटेको नेता सिटौलाको भनाई थियो ।
नेता सिटौलाले सबै राजनीतिक दलको सहमतिमा बैशाख पहिलो साता भित्र कांगे्रसको नेतृत्वमा सहमतीय सरकार बन्ने खुलासा समेत गरेका छन् ।

उनले एमाओवादीको सैन्य संरचनाको अन्त्य पछि राजनीतिक क्षेत्रमा नयाँ परिस्थितीको सिर्जना हुने दावी गरे ।

एमाओवादी लडाकु बारे गरिएको जिज्ञासामा महामन्त्री सिटौलाले शान्ति प्रक्रियाको मुलभूत समस्या भनेकै सेना समायोजन र सैन्य संरचना अन्त्य हुनु रहेको बताए ।

उनले समायोजन हुने लडाकुको दर्जा निर्धारण नेपाली सेनाले गर्ने बताउदै बाँकी अन्य लडाकुहरुलाई स्वयच्छिक अवकासमा पठाउने बताए ।

उनले सैन्यसंरचना अन्त्य भएको एक सातामै संविधान निमार्णमा देखिएका विवादरु अन्त्य हुने दावी समेत गरे ।

यसैबीच नेता सिटौलासँग छलफल चौतारी दाङले घोराहीमा शान्ति प्रक्रियाको सुरुवात र बर्तमान अवस्थाका बिषयमा परामर्श गरेको छ ।

नेता सिटौलाले तत्कालिन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरलाले शान्ति स्थापनाका लागि खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए । उनले कोइरालालाई एसिया कै वौद्धिक नेता भएको दावी गरेका थिए ।

प्रतिक्रिया