दुर्घटनामा ६ यात्रुको मृत्यु (फोटो फिचर)

बुटवल, २५ चैत । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–सालझण्डी सडकखण्डको मुर्गियामा आज विहान भएको सवारी दुर्घटनामा ६ यात्रुको मृत्यु भएको छ ।

रुपन्देहीको रुद्रपुरस्थित हरैयाबाट यात्रु लिएर बुटवलतिर आइरहेको लु १ ज १४८ नम्बरको भोल्गा जीप र झापाबाट शैक्षिक भ्रमणमा विद्यार्थी लिएर बुटवल हुदै पश्चिमतिर गइरहेको को १ ख ३१९५ नम्बरको बस एकआपसमा ठोक्किदा ६ जना यात्रुको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् । दुर्घटना स्थलमा तीन जना र लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा अन्य तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा दुधराक्ष गाविस–६, का ६९ वर्षीय जागेश्वर चापागाइँ, उनका भाई ६० वर्षीय टीकाराम चापागाइँ , माकर–६, नवलपरासीका १५ वर्षीय दिपेश पौडेल, रुद्रपुर हरैयाका कमल परियार, गजेडी –२, वेलभरियाका ४० वर्षीय दीपक परियार र स्याङ्जा फेदिखोला–२, निवासी ३५ वर्षीया राधा कार्कीको ज्यान गएको ट्राफिक प्रहरीका नायब निरीक्षक ज्ञानु पाण्डेले बताए ।

तीब्र गतिमा रहेका दुबै सवारी साधन एक आपसमा ठोक्किएका हुन । घटनामा २४ जना घाइते भएका छन् । घटनास्थलमा मृत्यु भएकाहरुको शव क्षतविक्षत अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

रुपन्देहीमा मात्र पछिल्लो एक महिना यता भएका सवारी दुर्घनामा १२ जनाले ज्यान गमाई सकेका छन् ।

 

जीप र बस दुर्घटना पछि जम्मा भएका सर्वसाधारणको भिड ।

प्रतिक्रिया