देवरसँग बिहे गर्न पतिको हत्या

सुर्खेत, २४ चैत । देवर पर्ने व्यक्तिसँग मिलेर जिल्लाको पश्चिमी क्षेत्रकी एक महिलाले पतिको हत्या गरेको खुलेको छ । बिजौरा-७ की १९ वर्षीया अमृता देवकोटाले गत २३ फागुनमा देवर पर्ने १९ वर्षीया नमराजको सहयोगमा पति २० वर्षीया उत्तमराजको हत्या गरेको प्रहरी अनुसन्धानबाट हालै खुलेको हो ।
उत्तमराजका जेठा बुबाका छोरा नमराजसँगको मिलेमतोमा अमृताले पतिको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उत्तमराजको शव बिहीबार गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीका अनुसार हत्यापछि आफू सुत्ने खाटमुनि लुकाएर सोही रात कपडामा पोको पारेर नमराजकी बहिनी कमला र भैया भनिने व्यक्तिको सहयोगमा उनीहरूले शव घरनजिकै खाल्डो खनी गाडेका थिए ।
मृतकका बुबा विजयरामले छोरा बेपत्ता भएको भन्दै खोजी गरिदिन १४ चैतमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । निवेदनपछि डिएसपी आनन्दप्रसाद मरहठाको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो । टोलीले घटनास्थलमै पुगेर अमृतासँग सोधपुछ गर्दा देवरको सहयोगमा आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
‘घटनास्थलमा पुग्दा अमृतालाई सशंकित पाइयो’ डिएसपी मरहठाले भने, पहिला त विभिन्न बहाना बनाएर उम्किने प्रयास गरिन् । त्यसैले शंका लागेर उनीसँग सोधपुछ गर्दा हत्या गरेको पुष्टि भयो ।’
प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरी पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा ल्याएको थियो । पोस्टमार्टमपछि उत्तमराजको शव आफन्तलाई बुझाइएको छ । प्रहरीले बिहीबार नै अमृता, नमराज, कमला र भैया भनिने व्यक्तिलाई पक्राउ गरिसकेको छ । अनुसन्धानका लागि सुर्खेत जिल्ला अदालतले म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अमृता र नमराजबीच डेढ वर्षदेखि नियमित यौनसम्बन्ध हुँदै आएको थियो । विवाह गर्ने निर्णयमा पुगेका उनीहरूले योजनाबद्ध ढंगले नै उत्तमराजको हत्या गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ । उत्तम र अमृताको दुई वर्षअघि प्रेमविवाह भएको थियो । दुवै कक्षा १२ को परीक्षा दिएर बसेका थिए ।

प्रतिक्रिया