सबिनाको सपना

 

नेपाली ग्ल्यामर क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेकाहरूका बीच बिल्कुलै नयाँ लाग्छिन्, सबिना भण्डारी । हालसम्म एक-दुईवटा स्टेज अनि र्‍याम्पको अनुभव मात्र छ । उनलाई चिन्ने उति धेरै नहोलान् न त ग्ल्यामर क्षेत्रले नै पत्याइसकेको छ । तर, यिनको अठोट ठूलो छ । भन्छिन्- ‘यति मिहिनेत गर्छु कि एक दिन नेपाली ग्ल्यामर क्षेत्र मलाई पत्याउन बाध्य हुनेछ ।’

र्‍याम्प, म्युजिक भिडियो अनि चलचित्रहरूमा ‘व्यस्त सेलिबि्रटी’ भएर निस्कने रहर छ उनलाई । त्यो ‘व्यस्तता’ कमाउने पूर्वतयारीस्वरूप अहिले पनि अधिकांश समय व्यस्तै रहन्छिन्, नृत्य, अभिनय अनि मोडलिङसम्बन्धी प्रशिक्षणहरूमा । मोडलिङ उनको बाल्यकालदेखिकै सपना हो । उमेर अनि हाइटसँगै त्यो सपना झनै अग्लिँदै छ । ५ फिट ४ इन्च अग्ली यी किशोरी १८ वर्ष पुगिन् ।

काठमाडौं लाजिम्पाटकी सबिना अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् । सेपार्ड कलेज कालोपुलमा मिडिया टेक्नोलोजीमा ब्याचलर प्रथम वर्षमा अध्ययन गर्छिन् । सँगसँगै विदेशीहरूलाई नेपाली भाषा सिकाउने सीप पनि छ । ‘उनीहरूलाई नेपाली सिकाउँदा खुब रमाइलो हुन्छ,’ विदेशीहरूकी यी नेपाली गुरुआमाले सुनाइन् । ग्ल्यामर क्षेत्रबाहेक यी उदीयमान मोडलका सोखचाहिँ के-के छन् त ? ‘फुर्सदको समयमा घुम्नु, नाच्नु अनि पत्रपत्रिका पढ्नु ।’ अनि जिन्दगीकै सबैभन्दा ठूलो धोकोचाहिँ प्रोफेसनल मोडल हुँदै मिडिया पर्सन बन्नु ।

ग्ल्यामरसँगै सेक्स र सौन्दर्यका कुरा पनि जोडिएर आउँछ हिजोआज  । यिनको बुझाइचाहिँ कस्तो छ नि ? अलिअलि बुझे अनि अलिअलि नबुझेजसरी लजाउँदै भनिन्, ‘सेक्स त सबैको पहिचान हो नि, यसलाई नकारात्मक रूपमा लिनुहुँदैन ।’

 

 

प्रतिक्रिया