झाँक्रीको झङ्कार

२०६७ फागुन महिनाको पहिलो मंगलबार । बाग्लुङ जिल्लादेखि करिब २५ किमी दक्षिण पश्चिममा पर्ने तग्राम गाविसको फापरखेत गाउँ । शिशिर ऋतुको चिसो रातले मुटु कमाइरहेको थियो । बाहिरबाट आएको ड्याङ-ड्याङ आवाजमा कान अडिए ।
कौतुहलताले आवाजलाई पछ्याइरहेँ । जय गुरु, गण गुरु, गुरु गुरु… मन्त्र उच्चारण गर्दै ढ्यांग्रो ठोकिरहेका थिए ६५ बर्षीय अधबैँसेले । नाम हो, ओमप्रसाद पुनमगर । घरीघरी थालमा राखिएको सिधा, दीप, ध्वजा र भेटीमा पूजा गरिरहेको देखिन्थ्यो ।
मझेरीम् २७ बर्से विवाहित युवती याने गौमती पुनलाई नाङ्लामाथि बस्न लगाइएको थियो । दुई जना सहयोगी हातमा अमि्र्रसोको एउटा-एउटा डाँक्ला लिएर गौतमीको नजिक उभिइरहेका थिए । मायाको सौगातस्वरूप जन्मिएकी पहिलो सन्तानको ६ महिनामै असामयिक निधनपछि दोस्रो बच्चा पनि खेर नजाओस् भनेर झाँक्री बसेका हुन् पुन ।
ढ्यांग्रोको आवाज चर्को बन्दै गएपछि त्यहाँ उभिएका दुई नौजवान हातको सिन्कालाई गौमतीको शिरदेखि पाउसम्म पुर्‍याउँथे । यो प्रक्रिया चलिरह्यो । झाँक्री जुरुक्क उठेर बुहारीको शिरको गन्धको माध्यमबाट उनको शरीरमा रहेको दोष पत्ता लगाउन खोज्थे । पुरुषहरू -सायद आफन्त हुँदा हुन्) तम्तयार भए घरदेखि परको दोबाटामा पूजा गरी भालेको बलि दिन । केहीबेरमै फर्केका युवक भन्दै थिए-‘यो मासु घरबाहिरकाले खानु हुँदैन ।’ पालैपालो अक्षता छुवाएर ‘भाग्य हेराउने’ काम सुरु भयो । पहिलो पालो थियो नायिका गौमतीकै । अक्षता गन्दै भन्न लागे पुनले ‘सिंगटे छोरो जन्मिन्छ एकदम राम्रो । म ठोकुवा गरेर भन्छु, बोक्सी र मरेडाइनीले खाए पहिलाकी नातिनी ।’
गौतमीले सात महिना नपुग्दै जन्म दिइन् छोरीलाई तैपनी परिवारमा खुसी छाएकै थियो तर त्यो खुसी लामो समय टिक्न सकेन । न्वारान नै गर्न नपाई सदाका लागि आँखा चिम्ली छैटौँ दिनमा त्यो फुच्चीले । यहाँ धामी, झाँक्रीप्रथा अझै कायम छ । मानिस बिरामी हुँदा वा धनसम्पत्तिको क्षति हुँदा भूतप्रेत, देवीदेउता वा बोक्सी डाइनी लागेको विश्वास गरी धामी झाँक्रीबाट झारफुक गराउने गर्छन् । यो चरम अन्धकारमा कहिलेसम्म बाँच्लान् मगरहरू ?
०००
नेपाली तथा बि्रटिस सेनामा जागिर खाने मगरबाहेक सबैको जीविकाको आधार खेतीपाती र पशुपालन हो । तराई झरेका मगरबाहेक पहाडका मगरहरू मकै, धान, फापर, कोदोको खेती बढी गर्छन् । पशुपालनमा गाई, भैँसी, भेडा, च्यांग्रा, कुखुरा पाल्ने गर्छन् । घर निर्माणका कला, खानीको काम आदिमा सिपालु हुन्छन् उनीहरू ।
यी जाति सोझा र अति मिलनसार हुन्छन् । सहयोगी हुन्छन् । मगरभित्र पनि धेरै थर छन्- घर्ती, थापा, पुन, आग्री, आले, गुरुङ्चन, वडलासी, बुढाथोकी, एसमाली, पासकी, खाली, हिस्की, थुमासिङ, रगाता, सिढारी ।  मगरभित्रैको अर्को जात आलेहरूमा पनि दूध आले, पेङ्दी आले, तोकौछी र सूर्यवंशी हुन्छन् भने थापा मगरहरू र पुनमगरभित्र पनि छुट्टाछुट्टै थर हुन्छन् । मगरहरूको मारुनी नाच अत्यन्तै प्रसिद्ध छ । जुनसुकै ठाउँमा बसे पनि यस नाचलाई जीवितै राखेका छन् मगरहरूले । विवाह गर्दा सकेसम्म आफ्नै जातभित्र गर्छन् यी समुदाय । र मामाचेली र फुपूचेलाभित्र विवाह गर्नु प्राथमिकतामा पर्छ । मगरहरूलेे बाहुन पुरोहित राखेर पूजा गराउने गर्थे तर यो प्रचलन बाहुन, क्षेत्रीसँग मिल्ने भएकाले मगरहरूको लाङ्थाली संघले आफ्नै जातिका पुरोहित ‘भुसाल’बाट पूजापाठ गराउनुपर्ने नीति लिएको छ ।
मगरहरूमा केटी छोप्ने चलन छ, जसमा १६ वर्ष उमेर पुगेकी केटीलाई झुक्याएर बलजफ्ती घिच्याउँदै लगेर बिहे गर्छन् । केही महिनापछि केटाकेटी ससुराली जान्छन् र दण्डस्वरूप पैसा तिर्छन् । यसलाई ‘चार तिर्ने’ भनिन्छ । चार तिरेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानुपर्छ । त्यसैबेला मात्र वैवाहिक कार्य गरिन्छ अनि दाइजोपातका साथ छोरी, ज्वाइँ बिदा गरिन्छ, यो संस्कार मगरको सामाजिक प्रथा हो ।
कणर्ाली अञ्चलको डोल्पा जिल्लामा पर्ने सहतारा, तोपतारा र ताप्कोट गाउँमा ‘मगर जातिभित्रका हौं भन्ने काइके समूहका मानिस आजसम्म करिब आठ-नौ सयको हाराहारीमा छन् । यी समुदायमा मातृसतात्मक सामाजिक पद्धति रहेको पाइएको छ । आमाको घरबाट छोराछोरीको थर प्रयोग गर्छन् यी समूह । आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले काइके भाषालाई अति लोपोन्मुख राखेको भन्ने भनाइ छ । काइके जातिमा भएका थर हाल मगर जातिभित्र राखिएको छ । काइके भाषा त्यसै समुदायका बुढापाकाले मात्र बोल्ने गरेको पाइएको छ ।
मगरहरू मृतकलाई प्रायः गाड्ने गर्छन् । एकीकरणपूर्व तत्कालीन नेपालमा बाइसे चौबिसे राज्यमा कतिपय मगर राज्य थिए, जसलाई सुरुमा मगरराज र त्यसपछि मगरात भनिएको अनुमान गरिन्छ । मगरात क्षेत्रमा रहेका सेन र ठकुरी राणाहरू पनि मगर नै थिए भन्ने विद्वान्हरूको भनाइ छ, त्यसैले यिनीहरू शासकर्वगमा पनि गनिन्छन् ।
मगरहरूको मूलथलो कर्णाली र गण्डकी प्रदेशको बीचको भू-भाग हो । एकीकरणपूर्व १२ मगरात राज्य थिए, जसको केन्द्रबिन्दु पाल्पा थियो । आज पनि धेरैजसो मगर लुम्बिनी, राप्ती र धौलागिरी अञ्चलको पहाडी क्षेत्रमा बसोबास गर्छन् । जनकलाल शर्माले मगरहरूलाई हुण जातिका रूपमा प्राचीनकालमा दक्षिणाभिमुख हुँदै हाम्रो प्रायद्वीपमा प्रवेश गरेको बताउँछन् ।

प्रतिक्रिया