विनादर्शनका दार्शनिक

ज्ञानको प्यासले भौतारिदै मानिस देश–देशावर घुम्दैछ । छैन मानिसको प्यास शान्त भएको । माक्र्स, नित्से, सुकरात, बुद्ध, प्लेटो आदि सबैले जीवनको दर्शन बनाए । तिनको दर्शनले मात्र पुगेन मानिसलाई र सधै नया दर्शनको खोजीमा छ । तर, जति ज्ञानको भुमरीभित्र पस्छ उति नै दुःख पाएको छ मानिसले । जति धेरै ज्ञान, उति धेरै दुःख । जीवन चल्न कुनै वाद, दर्शन वा आदर्श आवश्यक छैन । जीवन जस्तो छ उस्तै भोग्नु आफैमा एउटा वाद, आदर्श र दर्शन हो । किताबको भारीले थिचिएर मरेको भरियाको जीवन दर्शन के होला ? एउटा सामान्य मानिसले बाचेको औसत जीवनको पनि आङ्खनै आदर्श, वाद वा दर्शन हुन्छ । यो भयानक तछाडमछाड, भिडभाड र जीवनको रस्साकस्सीमा एउटा सामान्य मानिसको औसतभन्दा पनि निम्न जीवनको कवितालाई जीवनको दर्शन मान्न सक्ला के यो ‘विद्वान्हरूको’ भिडले ? दुःख र दर्दका कथा बिक्ने समय होइन यो । आजको युगमा कि त यौन बिक्छ कि त ‘रक्सी’ बिक्छ । रक्सी र नगरबधूको सस्तो शृंगारको गन्ध बकपत्र बनेर सहरैभरि फैलिएको छ ।
नित्सेले ईश्वर मरेको घोषणा गरेको लालबहादुर वनमालालाई के थाहा र ? उनको काम हो घन्टी बजाउने र उनी घन्टी बजाइरहेका छन् । लालबहादुरलाई मंगलबार र बिहीबार विशेष याद रहन्छ । दुवै दिन उनले नगरमा पत्रिका पनि बाड्नु पर्छ । यो लालबहादुरको अतिरिक्त काम हो । त्यसो त उनी नगरमा कसैको घरमा कुनै कार्य पर्‍यो भने पनि जान्छन्, निम्तो बाड्नका लागि । लालबहादुरको जीवनको परिधि यति नै हो । कसले ईश्वर मरेको घोषणा गर्‍यो वा कसले नया ईश्वरको प्रक्षेपण गर्‍यो उनलाई थाहा पाउने रहर छैन । जीवनसग पौजोरी खेल्दै बहत्तर वर्षको संघारमा आइपुग्दा लालबहादुरलाई आफूभन्दा कान्छाहरूले पनि छाडेर जान थाले । अब त बुढा भए लालबहादुर तर मर्नदेखि डर छैन उनलाई । भर्खरै बितेका उनका हेडसरले सगै मरौला भन्थे रे । ‘तर, उनी त अघि नै गए,’ उनी थोरै भावुक हुन्छन् । आखा धमिला देखिन्छन् । नमिलाइकन लगाएको ढाकाटोपीले उनको बुढ्यौलीलाई छोप्न सकेको छैन । अनुहारको मुजामा दुःख–सुखका अनगिन्ती पत्रहरू पट्याएर राखेका छन् लालबहादुरले ।
तीन छोरा र दुई छोरीका पिता लालबहादुरलाई जीवनप्रति कनै गुनासो छैन । न त समयसग विद्रोह नै गर्नुछ । उनलाई त बस् बाच्नुछ र बाचेका छन् । आठ वर्षअघि उनलाई श्रीमतीले छाडेर गएको कुराले निकै दुःखी बनायो । ‘छाडेर गइहाली’ केही उदास हुदै कतै हराए केहीबेर । जतिबेला मानिस सबैभन्दा एक्लो महसुस गर्छ, त्यही बेला आङ्खनो साथीले छाडिदिदा कता कता बिझ्दो रहेछ । त्यो का“डा र त्यो घाउ उनले जति लुकाउन खोजे पनि सकेनन् । कान्छो छोरासग बसेका उनलाई अझै पनि जागिर छाड्न मन छैन । ‘जागिर छाडेर अर्काको भरमा बस्न मन छैन’ । अझै स्थायी भइदिएहुन्थ्यो जस्तो लाग्छ । दिनको सय रुपिया आउने जागिर उनका लागि ठूलै कुरा भएको छ अहिले पनि । महिनाको एक सय ५० बाट बढेर उनको तलब तीन हजार रुपिया पुगेको छ । एक सय ५० बढेर तीन हजार हुन चौतीस वर्ष बिताउनु पर्‍यो लालबहादुरले । यति लामो समयमा उनैको स्कुलबाट निस्केर कति ज्ञानको भारीले थिचिइसके । कति अझै किताबको पानाभित्र जीवन खोज्दैछन् । तर, उनको किताबमा एउटै वाक्यमात्र लेखिएको छ ‘काम गर’ । उनले घडी हेरेर छुट्याएको समयमा ज्ञानको लेनदेन हुन्छ तर उनको बहीखातामा कहिल्यै केही थपिएन । ‘यति लामो र विराट जीवनबाट पनि केही सिक्न सकिएन’ दिक्क मान्दै भन्छन् । उनैले बाडेको पत्रिकाजस्तो छ उनको जीवन । सप्पै पाना पल्टाइसकेपछि जुन थोत्रो हुन्छ र कतै मिल्काइन्छ । उनलाई पनि त्यसरी नै बिर्सन्छन् सबैले काम सकिएपछि । उनी त भुइका मान्छे हुन्, उनीस“ग बोल्नलाई अरूहरू निहुरनु सम्झन्छन् ।
समाजवाद, साम्यवाद, पुजीवाद केही पनि थाहा छैन लालबहादुरलाई । राजनीति के हो उनलाई थाहा छैन । ००७ साल, ०३६ साल, ०४६ साल, ०६३ साल, पञ्चायत, प्रजातन्त्र, गणतन्त्र, राजा, कांग्रेस, माओवादी सबैलाई देखे उनले तर कसैले उनलाई देखेनन् । तर पनि उनले भोटचाहि हालेका छन् रे स्कुलका हेडमास्टरले भनेको पार्टीलाई । उनलाई त देशको प्रधानमन्त्री को हो भन्नेसम्म थाहा छैन । तर, उनी समाचारको आपूर्ति गर्छन् ढोकाढोकामा पुगेर ।
मन्दिर खासै जा“दैनन् उनी । उसो त उनलाई पाप, धर्म के हो भन्ने राम्रो हेक्का छ । ‘जीवनमा कसैलाई कहिल्यै नराम्रो गरेको छैन मैले,’ भन्छन् उनी । स्वर्ग–नर्क भन्ने कुरामा त्यति विश्वास नगर्ने उनले क्रिस्चियन धर्म लिन पनि खोजेका रहेछन् तर छोराछोरीको करले मात्रै नलिएका रहेछन् । कसैलाई कहिल्यै नराम्रो शब्द नबोलेका उनले भने धेरैको गाली खाएका छन् । ‘अब त बिर्सने बानी पनि लाग्यो झन् पो गाली खान थालेको छु,’ लालबहादुरका चिम्सा आ“खा अर्कैतिर हेर्छन् । उनलाई पढ्न खुबै मन थियो रे तर एक दिन किताब हराएपछि उनका बाले उनको पढाइ छुटाएर भेडा गोठालो पठाएछन् अनि एक कक्षाबाट माथि उक्लेनन् उनी । पहिले त बनेपामा फाट मात्रै थियो त्यही फाटमा गोठालो जान्थे उनी । बनेपा त ठूलो भयो तर आफू ठूलो हुन सकिएन भन्ने लागिरहन्छ उनलाई । ठूलो मान्छे हुने मन उनलाई पनि नभएको होइन तर सबैको भाग्यमा लेखिएको हुन्न रहेछ, लालबहादुरले लामो सुस्केरा निकाले । आजभोलि एउटा सपनाले खुब लखेट्न थालेको छ लालबहादुरलाई । उनी सधै पैसा छाप्ने मिसिन ल्याएर बोराका बोरा पैसा छापेको सपना देख्छन् । धनी भएको, ठूलो मान्छे भएको सपना देख्छन् । सायद उनले गर्न खोजेको र गर्न नसकेको काम उनी सपनामा गर्दै छन् । लोभ, मोह, ईष्र्या, घृणादेखि माथि उठेर लालबहादुर एउटा सामान्य बुद्ध जीवन बा“चिरहेका छन् । विशुद्ध एउटा बालकको जस्तो छ उनको मन र दृष्टि ।
लँलबहादुरको जीवन त खाली कागजलाई किताबको आकारमा खिपेर बनाइएको सादा कागजको बिटोजस्तो छ । अब जे लेखेर भरे पनि हुन्छ । लालबहादुरको अनुहार हेर्दा सिकारु चित्रकारले रुङ पोतेको क्यानभासजस्तो लाग्छ, कसैले त्यो रङ भद्दा देख्छ, कसैले त्यही रङ फिका देख्छ । कसैका ‘हजुरबा’, कसैका ‘अंकल’, कसैका ‘पाले दाइ’ लालबहादुरले जीवनको नाटकमा लामै अभिनय गरे तर सूत्रधार को हो नै थाहा नपाई । जीवन, सुख, दुःख केही कुरालाई परिभाषाभित्र बा“ध्न नजान्ने लालबहादुरको जीवन पनि परिभाषाभित्र बाधिदैन र कसैले प्रतिपादन गरेको दर्शनले व्याख्या गर्न सक्दैन ।
स्कूलमा जस्तै जीवनमा पनि घन्टी बजाएर विषय फेर्न पाए पनि हुन्थ्यो उनी भन्छन् । पहिलो घन्टी दुःख, दोस्रो घन्टी सुख, तेस्रो घन्टी माया, चौथो घन्टी पैसा आदि आदि । कहिलेकाही कुनै जीवन दर्शन नहुनु आफै एउटा दर्शन हुदोरहेछ । जीवन त आखिर बित्ने नै रहेछ । लालबहादुरको जीवन पनि पुछारमा पुगेको छ र धेरै लालबहादुर यसरी नै बा“च्दैछन् विनादर्शनका दार्शनिक बनेर ।

प्रतिक्रिया