माओवादी दुई समूहका भिन्दाभिन्दै कार्यक्रम

काठमाडौं, २४ चैत । चरम आन्तरिक गुट उप–गुटको समस्या खेप्दै आएको प्रमुख सत्तारुढ एकीकृत माओवादीको संस्थापन समूह र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले काठमाडौं लगायत मुलुकका बिभिन्न स्थानमा अलग अलग कार्यक्रम गरेका छन् ।

जनआन्दोलन दिवसका नाममा भएका दुई समूहका अलग अलग कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन् । संस्थापन समूहले शान्ति र संविधानलाई अघि सारेको छ भने बैद्य समूहले जनजीविका, राष्ट्रियता, जनसंविधान, जातीय राज्यका मुद्धालाई प्राथमिकताका साथ अघि बढाएको छ ।

काठमाडौंको बसन्तपुरमा संस्थापन पक्षले दलबल सहित आमसभा गरेको छ । रत्नपार्कको शान्ति बाटिकामा बैद्य समूहले साना केही संघ संगठनको सहयोगमा कोण सभा गरेको थियो । संस्थापन समूहको सभामा उल्लेख्य कार्यकर्ताको सहभागिता थियो भने बैद्य समूहका कार्यक्रममा सीमित कार्यकर्ताको उपस्थिती देखिएको थियो ।

संस्थापन समूहको कार्यक्रमलाई एमाओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई सहितका नेता र बैद्य समूहको कोण सभालाई भने उपाध्यक्ष मोहन बैद्य, सचिव सीपी गजुरेल लगायतका नेताले सम्बोधन गरेका थिए ।

उता, संस्थापन समूहले पोखरा, चितवनलगायतका जिल्लामा समेत कार्यक्रम गरेको छ । बैद्य समूहले पनि बुटवल लगायतका केही स्थानमा अलग कार्यक्रम गरेका छन् ।

बसन्तपुरमा भएको कार्यक्रा प्रमुख अतिथी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाईएपनि उनी अस्वस्थ्यताको कारण देखाउदै अनुपस्थित भए ।

माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरका अनुसार काठमाडौं सहित मुलुक भरी संस्थापन समूहले २७ स्थानमा आमसभा गरेको छ । आमसभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।

यसैवीच, एमाओवादीको बैद्य समूहका नेता तथा कार्यकर्ताले सरकारको राजीनामा माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् ।

बैद्य समूहका कार्यकर्ता र अन्य विभिन्न १२ वटा साना वाम पार्टीको समर्थनमा आज बुटवलमा सरकार बिरुद्ध प्रदर्शन भएको हो ।

सरकार र संस्थापन पक्ष सम्झौतापरस्त हुदै गएको र पार्टीको मुलधारबाट विचलित भएको आरोप लगाउदै बैध समूहका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले जुलुस र विरोध सभा समेत गरेका छन् ।

सन १९५० को सम्झौता र बाबुराम भट्टराई नेतृत्वको सरकारले हालै गरेको विप्पा सम्झौतालाई राष्ट्रघाती भएको भन्दै वैद्य समूहले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया