‘शान्ति प्रक्रियाको काम फत्ते गरेको छु’

काठमाडौं, २४ गते । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले जिम्मेवारी सम्हाले देखिनै शान्ति–प्रक्रियालाई टुंगोमा पुयाराउने र आर्थिक गतिविधिलाई तिब्रता दिने काम एकै साथ अघि बढाएको बताएका छन् ।

राजधानीमा आज नेपाल उद्योग वाणिज्य महासंघको छ्यालिसौं वार्षिक साधारण सभामा भट्टराईले बिगत छ महिनादेखि बल्झिएर रहेको शान्ति प्रक्रियाका काममा काम फत्ते गरेको बताए । उनले भने, ‘शान्ति–प्रक्रियाका अन्तिम केहि कडीहरु आगामी दिनमै पुरा हुने छन् ।’

निर्धारित समयभित्रै आम जनताको चाहना बमोजिमको संघीय गणतान्त्रिक संविधान जारी गर्ने भन्दै प्रधानमन्त्री भट्टराईले सरकारले संविधानसभालाई संविधान तर्जुमा सम्पन्न गर्न आवश्यक जुनसुकै सहयोग गर्ने बताए । उनले जेठ १४ सम्म शान्ति र संविधान निर्माणका काम पूरा गर्ने भन्दै देश आर्थिक निर्माणको अभियानमा केन्द्रित हुने बताए ।

निजी क्षेत्र, सहकारी र समुदायको सक्रियता उत्तिकै आवश्यक हुने बताएका भट्टराईले सहकारी र समुदायको उर्जालाई लाभदायी आर्थिक उपार्जनमा रुपान्तरण गर्न निजी क्षेत्रको अहम भूमिका रहने बताएका छन् ।

लगानी–मैत्री वातावरण निर्माण गर्न सरकारले जोड दिएको स्मरण गराउदै प्रधानमन्त्री भट्टराईले उच्चस्तरीय लगानी वोर्डको गठन र त्यसका पछिल्ला सक्रियता त्यसैका उदाहरण रहेको बताए । उनले नेपालमा आवश्यक पर्ने विदेशी लगानी भित्रने क्रमपनि सुरु भएको भन्दै भारत र चीनले त्यसमा चासो देखाएको उल्लेख गरे ।

प्रतिक्रिया