८१ सहकारी खारेजी हुने

बाग्लुङ, २३ चैत । डिभिजन सहकारी कार्यालय बाग्लुङले धौलागिरिका ८१ सहकारीलाई खारेज गर्ने तयारी गरेको छ ।
कार्यालयले गत २६ माघमा निस्क्रिय अवस्थामा रहेका सहकारीलाई पत्राचार गरी ३५ दिने सूचना जारी गर्दासमेत सम्र्पकमा नआएपछि खारेज गर्न लागेको हो । धौलागिरिमा ६ सय ७९ सहकारी  दर्ता भएका छन् । तीमध्ये बाग्लुङका ३०, पर्वतका ४०, म्याग्दीका सात र मुस्ताङका चार सहकारी खारेजीको सूचीमा परेका छन् ।
२०३२ सालदेखिको साझा सहकारी तथा केही समयअगाडि दर्ता भएका सहकारीसमेत खारेजीको सूचीमा छन् । सहकारीका तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा पत्र पठाए पनि ती व्यक्ति अहिले गाउ“मा नभएको भन्दै फिर्ता आएको कार्यालयले जनाएको छ । पत्रमा सहकारी संस्था पुनः सञ्चालन हुने अवस्था रहे नरहेको, पुनः सञ्चालन हुने अवस्था नरहेको भए हिसाबकिताबको अवस्था के छ भन्ने जस्ता कुरा लेखिएको डिभिजन सहकारी कार्यालयले बताएको छ ।
खारेजीको सूचनापछि केही सहकारीले लिखित रुपमा पत्र पठाए पनि अधिकांशले मौखिक रुपमा पुनः सञ्चालन गर्ने बताएको डिभिजन सहकारी कार्यालय बाग्लुङका प्रमुख विष्णुप्रसाद सुवेदीले बताए । खारेजीको सूचीमा रहेका ८१ सहकारीमध्ये ४२ वटा सहकारी अझै पनि सम्र्पकविहीन अवस्थामा रहेको उनले बताए ।
शासन व्यवस्था, द्वन्द्व, अनुदानको आशामा स्थापना गर्ने लहर, उद्देश्यअनुसार कामको अभाव, अस्वस्थ प्रतिस्पर्धा र कार्यालयको प्रभावकारी निगरानी अभावले सहकारी खारेज गर्ने अवस्था आएको कार्यालयले जनाएको छ । ती सहकारीलाई पुनःसञ्चालन गर्ने वातावरण बनाइने पनि कार्यालय प्रमुख सुवेदीले बताए । यसैबीच डिभिजन सहकारी कार्यालय बाग्लुङले सहकारी निष्क्रिय र बन्द हुने क्रम बढ्न थालेपछि सर्च अभियान सञ्चालन गरेको छ ।
सहकारी नियमसंगत रुपमा सञ्चालन नभएको, अनुदानमुखी भएको, ऋण र बचतमा  सीमित भएको लगायतको गुनासो आएपछि अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
अभियानका क्रममा सहकारीको कार्यक्षेत्र, सेयर सदस्य, कारोबारलगायतका विवरणमा फाराम भरेर ल्याउने र सहकारीका सञ्चालकलाई सजग गराइने कार्यालय प्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया