प्राविधिक व्यक्तिलाई महासचिव बनाउने प्रचलन राखेपले नमान्ने

काठमाडौं, २३ चैत । राष्ट्रिय खेलकुद परिषद्को ९०आं बोर्डबैठकले कर्मचारीलाई कुनै पनि संघको अध्यक्ष, महासचिव र कोषाध्यक्षमा उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि थुप्रै संघका साधारणसभा प्रभावित हुने भएका छन् । नेपाल बक्सिङ संघ र नेपाल टेबलटेनिस संघको साधारणसभामै विवाद भई यस विषयमा बोर्ड बैठकमा छलफल हुँदा कर्मचारीले यी तीन पदमा उम्मेदवार हुन नपाउने निर्णय भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले कुनै पनि कर्मचारीलाई साधारणसभामा उपस्थित नहुन आह्वान गरेपछि यसको पहिलो असर उसु संघको साधारणसभामा देखिने भएको छ । २६ चैतमा साधारणसभा घोषणा भए पनि विभिन्न जिल्लाका प्रशिक्षक प्रतिनिधि रहेका छन् । उसुका वरिष्ठ मुख्य प्रशिक्षक प्रणिलध्वज कार्कीले कर्मचारी संघको आह्वानबारे जानकारी गराउँदै भने, ‘परिषद्को निर्णयले साधारणसभा प्रभावित हुन सक्नेछ ।’
स्मरणीय छ, कार्की उसुका दक्षिण एसियाली टेक्निकल डाइरेक्टर भएका कारण राजिनीतिक हस्तक्षेपलाई पनि अन्तर्राष्ट्रिय मान्यता दिलाउनका लागि उनलाई महासचिव पदमा परिषद्ले राख्दै आएको थियो । कार्कीझंै तेक्वान्दो संघका महासचिव मुख्य प्रशिक्षक दीपराज गुरुङ रहेका छन् ।
यसैगरी, नेपाल भारोत्तोलन संघको महासचिव पनि मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्त रहेका छन् । लामो समय प्रशिक्षण पेसामा रहनुका साथै अन्तर्राष्ट्रिय निकायमा पनि पहुँच भएकालाई जिम्मेवारीमुक्त गर्दा यसले पार्ने नकारात्मक प्रभावबारे परिषद्ले कुनै चासो दिएको छैन । स्मरणीय छ, गुरुङले महासचिव र मुख्य प्रशिक्षक दुवै जिम्मेवारी सम्हाल्दा नै तेक्वान्दो नेपालको पहिलो खेलको रूपमा लामो समय रहेको थियो । महासचिवजस्तो पदमा प्राविधिक व्यक्तिको साटो राजिनीतिक व्यक्तिलाई उपस्थित गराउने परिषद्को सोचले खेल क्षेत्र अझ एक कदम पछि धकेल्ने खेलकुदका जानकार बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष नारायणदेव राणाले साधारणसभाको आफ्नो नेतृत्व चयन गर्न पाउने नैसर्गिक हक हनन भएको प्रतिक्रिया दिए । स्रोतका अनुसार टेबलटेनिस संघका मुख्य प्रशिक्षक वृजेन्द्र हमालको नेतृत्वलाई साधारणसभाले स्वीकार गर्ने अवस्था रहेपछि अध्यक्षका अर्का प्रत्यासी सुदिल शाहीले कोषाध्यक्षको प्रतिवेदनको विरोध गर्दै निर्वाचन स्थगन गर्नुपर्ने माग राखेका थिए । अध्यक्ष रहे पनि उपाध्यक्षको उम्मेदवारी तयारी गरेका चतुरानन्द वैद्यले स्थगन गरेका थिए । अध्यक्षको उम्मेदवारी दिन तयार शाही र हालका अध्यक्ष वैद्य दुवै पछिल्लो निर्णय गराउन लागिपरेका थिए ।
यसबारे परिषद्का सदस्य-सचिव युवराज लामाले परिषद्को तलब खाने र संघको राजनीति गर्ने काम बन्द गर्नुपर्ने बताए । खेलकुद संघको महासचिव पद सम्बन्धित खेल प्रविधिको विज्ञ रहने अन्तर्राष्ट्रिय प्रचलन भए पनि लामाले कुनै नियमावली र विधानले यस्तो व्याख्या नगरेको जिकिर गरे । राष्ट्रिय खेलकुद परिषद्को बोर्डमा रहेकामध्ये लामा कुनै समय कराते खेलमा आबद्ध थिए भने मुकन्द पहरी सितेरियो कराते र रामकृष्ण बानियाँ तेक्वान्दो खेलसँग समबन्धित थिए । खड्ग रानाभाट पूर्वएथलेटिक्स खेलाडी हुन् । यसैगरी किरण गिरी फुटबलका पूर्वफिफा रेप|mी हुन् । परिषद्का अन्य कुनै पनि अधिकारी खेलकुदका बारे कुनै जानकारी नभएका र खेलसँग असम्बन्धित रहेका छन् ।

प्रतिक्रिया