गुप्तांगमा लागुऔषध

हेटौंडा, २३ चैत । ‘गल्ती गर्नेले प्रहरी देख्नेबित्तिकै संकेत देखाउछ,’ इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर दीपेन्द्र पञ्जियारले भने, ‘बसमा प्रहरी छिर्नेबित्तिकै छटपटाएको युवकले गुप्तांगमा ब्राउन सुगर पो बोकेर ल्याएको रहेछ ।’
रातोमाटे अस्थायी चेकपोस्टबाट भारतीय नागरिक गुडन महतोलाई एकसय ग्राम ब्राउन सुगरसहित समातेको छ । वीरगन्जबाट काठमाडौं हिडेका महतो ना ४ ख ६४५९ नम्बरको यात्रुबाहक बसमा आइरहेका थिए ।
वीरगन्जबाट हेटौंडा हुदै काठमाडौं, चितवन, पोखरा, भैरहवासम्म युवायुवतीमार्फत लागुऔषधको कारोबार बढेको छ । इन्स्पेक्टर पन्जियार भन्छन्, ‘युवकहरूले मोजा, कट्टुभित्र ब्राउन सुगर लुकाएर ल्याउन थालेका छन् भने युवतीले स्तन र गोप्य अंग प्रयोग गर्न थालेका छन् ।’
ब्राउन सुगर ओसारपसार पछिल्लो समय युवतीहरूको पनि प्रयोग बढेको छ । भारतीय सहर रक्सौलबाट घरायसी सरसामान बोकेर आउने महिलाले स्तन, गुप्तांगमा ब्राउन सुगर बोकेर ल्याउने गरेको पाइएको पञ्जियारले बताए । केही समयअघि प्रहरीले एक महिलालाई गुप्तांगमा पुरुषको लिंग आकारको नरम रबरभित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित पक्राउ गरेको थियो । सुराकीका आधारमा पक्राउ परेकी ती महिलाले गुप्तांगमै ब्राउन सुगर लिएर आएकी थिइन् । महिला प्रहरी लगाएर उसले लुकाएको ब्राउन सुगर खोज्नुपरेको थियो ।
‘महिलाले लागुऔषध ओसारपसार गर्न थालेकाले महिला प्रहरीको महसुस भएको छ,’ इन्स्पेक्टर पन्जियारले भने, ‘चेकिङमा पुरुष प्रहरीमात्रै हुदा शंका लागेका महिलालाई प्रहरीले सोधपुछमात्र गरेर छाड्नुपरेको छ ।’ महिला प्रहरी भए शंका लागेका महिलाको जाच सहज हुने प्रहरीको बुझाइ छ ।
प्रहरीले पछिल्लो ६ महिनामा लागुऔषध ओसारपसारमा संलग्न ८० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश २० वर्षमुनिका छन् । काठमाडौं, काभ्रे, चितवन, पोखराका युवक लागुऔषध ओसारपसारमा संलग्न रहेका पाइएको छ भने भारतीय नागरिक पनि लागुऔषध ओसारपसारमा संलग्न रहेका पाइएको छ । क्याम्पस पढ्दै गरेका युवा पनि लागुऔषध ओसारपसारमा संलग्न छन् । विभिन्न मितिमा समातिएकामध्ये १८ भारतीय छन् । डाइजेपाम, नुर्फिन, फेन्सिडल, फेनार्गन, लुप्रिजेसिकलगायत लागुऔषध ओसारपसारमा महिलाको पनि प्रयोग बढेपछि प्रहरीले राजमार्ग चेकिङमा महिला प्रहरी परिचालन गर्ने योजना बनाएको छ । एसपी पूर्णचन्द्र जोशीले भने, ‘सुझाव आएको छ, हामी महिला प्रहरी परिचालन गर्ने तयारीमा छौ“ ।’

प्रतिक्रिया