परीक्षाको सुरक्षामा सशस्त्र प्रहरी

काठमाडौं, २३ चैत । एकै व्यक्तिका कारण सयौ विद्यार्थीको परीक्षा बिथोलिने क्रम बढेपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाको सुरक्षामा नेपाल प्रहरीसगै सशस्त्र प्रहरी पनि खटिने भएका छन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सशस्त्र प्रहरीसमेत खटाउने निर्णय गरिएको हो ।
त्रिविका निमित्त परीक्षा नियन्त्रक रमेश जोशीले परीक्षालाई मर्यादित बनाउन सशस्त्र प्रहरीसमेत खटाउने निर्णय भएको जानकारी गराए । ‘परीक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरीसमेत खटाउने निर्णय भएको छ,’ निमित्त परीक्षा नियन्त्रक जोशीले भने, ‘सशस्त्रले नेपाल प्रहरीभन्दा पछाडि रहेर सहयोग गर्नेछ ।’
बिहीबार सुरु भएको स्नातक तह प्रथम वर्षको परीक्षामा केही केन्द्रमा सशस्त्र प्रहरी पनि परिचालन भएको खबर आएको जोशीले बताए । उनका अनुसार बुधबार त्रिविका शिक्षाध्यक्ष, रजिस्ट्रार, नियन्त्रक, सहनियन्त्रक, गृह मन्त्रालयका प्रतिनिधि, सशस्त्र प्रहरीका एसएसपी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित बैठकले परीक्षामा सशस्त्र प्रहरी पनि परिचालनको निर्णय गरेको थियो ।
अघिल्लो वर्ष त्रिविका पदाधिकारीले परीक्षामा सुरक्षा मजबुत बनाउन भन्दै सहयोग माग गरेका थिए । त्यसपछि त्रिवि पदाधिकारी र गृह मन्त्रालयका अधिकारीबीच कुनै परीक्षा केन्द्रमा हुलदंगा भए, परीक्षा बिथोल्न खोजे कारबाहीका लागि ‘माथिको आदेश’ पर्खन नपर्ने सहमति भएको थियो । जोशीले भने, ‘मानवीय र भौतिक क्षति रोक्न माथिको आदेश पर्खन नपर्ने निर्णय भइसकेको छ ।’ यसबाट अब परीक्षामा अमर्यादित क्रियाकलाप कम हुने विश्वास उनले व्यक्त गरे ।
उनका अनुसार कुनै एक परीक्षार्थीले परीक्षा बिथोल्न खोजे केन्द्रका सबै परीक्षार्थी प्रभावित हुने अवस्थालाई रोक्न सुरक्षा थप भएको हो । केन्द्राध्यक्षले आवश्यकताअनुसार सुरक्षाकर्मी माग गर्न सक्छ । अघिल्लो वर्ष करिब एक दर्जन केन्द्रमा परीक्षा बिथोलिएको थियो । परीक्षा बिथोलिएर पुनः परीक्षा लि“दा जनशक्तिदेखि आर्थिक व्ययभारसमेत बढेको उनको भनाइ छ ।
बिहीबार सुरु भएको परीक्षामा दुई लाख ३३ हजार सात सय आठ परीक्षार्थी सहभागी छन् । काठमाडौं उपत्यकामा मात्र ६८ केन्द्रमा करिब ७३ हजार विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

प्रतिक्रिया