तारे होटेलले तिर्दैनन् घर–जग्गा कर

काठमाडौं, २३ चैत । काठमाडौंका तारे होटेलले महानगरपालिकालाई घरजग्गा कर नबुझाएको पाइएको छ । होटेलहरूले घरजग्गाको विवरण नै नबुझाएकाले के–कति कर उठाउने भन्नेसम्म यकिन छैन ।
बारम्बार ताकेता गर्दा पनि ती होटेलले घरजग्गा कर नबुझाएको महानगरपालिकाले जनाएको छ । एकाध होटेलबाट भने वडा कार्यालयले व्यवसाय कर असुल गरेको महानगरपालिका राजस्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानांगले बताए ।
काठमाडौंमा रहेका रोयल सिंघे कमलादी, होटेल एभरेस्ट बानेश्वर, हायात रिजेन्सी चुच्चेपाटी, होटेल सोल्टी, होटल ग्रान्ड सोल्टीमोड, सांग्रिला, ग्याङजुङ, र्‍याडिसन होटेल लाजिम्पाट, एम्बासडर, शंकर होटेल लैनचौर, याक एन्ड यती दरबारमार्ग लगायतले महानगरपालिकालाई घरजग्गा कर तिरेका छैनन् ।
उनीहरूमध्ये अधिकांशले व्यवसाय करसमेत नबुझाएको महानगरपालिकाले जानकारी दिएको छ । होटेल अन्नपूर्णले भने वर्षको तीन लाख रुपिया कर तिर्दै आएको छ ।
महानगरपालिका राजस्व महाशाखा प्रमुख प्रधानांगका अनुसार घरजग्गा ऐन–२०१९ लाई देखाएर होटेल सञ्चालकले घरजग्गा कर नतिर्ने गरेका हुन् । सो ऐनमा पाहुना बस्ने घर, भान्सा र पार्किङस्थलको कर नलाग्ने व्यवस्था गरिएकाले होटेल सञ्चालकसग घरजग्गा कर उठाउन नसकिएको उनले दाबी गरे । घरजग्गा कर उठाउन वडा कार्यालयलाई जिम्मा दिइए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ आइसकेको अवस्थामा पुरानो ऐनको कुरा गरेर करोडौ रुपिया डुबाउन नहुने बताउदै महानगरपालिकाका कर्मचारीले त्यसतर्फ आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । बारम्बार पत्राचार गरिए पनि होटेल सञ्चालक कर तिर्न नआएको महानगरपालिका राजस्व महाशाखा प्रमुख प्रधानांगले बताए ।
महानगरपालिकाले आºनो क्षेत्रभित्रको प्रत्येक घर र जग्गामा नगर परिषद्बाट पारित भएबमोजिमको घरको आकार, प्रकार, बनोट र सो घरले चर्चेको हाता कम्पाउन्डसमेतका आधारमा घरजग्गा कर लिन पाउने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन २०५५ मा गरिएको छ । घरजग्गाको क्षेत्रफलको आधारमा कर लिने भए पनि त्यसको विवरण नहुदा करोडौं रुपिया राजस्व गुमिरहेको छ ।
तारे होटेलसग राजस्व उठाउन नसकेको महानगरपालिकाले सामान्य गेस्टहाउससग भने घरजग्गा कर असुली गरिरहेको छ । महानगरपालिकाका अधिकारी सामान्य गेस्टहाउसलाई घरजग्गा कर लिएपछि तारे होटेललाई उन्मुक्ति दिन नहुने बताउछन् । ‘दुई चार हजार आम्दानी गर्नेलाई कर लिनु र करोडौं कमाउनेहरूलाई छुट दिनु न्यायसंगत छैन,’ महानगरपालिकाका वरिष्ठ अधिकारीले भने ।
महानगरपालिकाका एक पूर्वकार्यकारी अधिकृतका अनुसार उनीहरूलाई घरजग्गा करको दायरामा ल्याउन कठिन छ । ‘अटेर गरेर बस्ने होटेल सञ्चालकमाथि कडा कारबाही गर्न महानगरपालिकाले चासो नदेखाएकाले घरजग्गा कर उठ्न नसकेको हो,’ ती अधिकृतले भने । होटेल एसोसिएसन अफ नेपालका अध्यक्ष श्यामलाल कक्षपतिले तारे होटेलले कर तिर्न आवश्यक नै नभएको जिकिर गरे । ‘धेरै वर्ष अघिदेखि तिरेका छैनौ,’ कक्षपतिले भने, ‘महानगरपालिकाले मागेको पनि छैन । हामीले तिर्न नपर्ने भएरै नमागेको हो ।’ काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले होटेलसग घरजग्गा कर उठाउन आवश्यक प्रक्रिया भइरहेको बताए ।

प्रतिक्रिया