जुन हेलिकोप्टर पानीमा बिलायो

काठमाडौं : २३ कात्तिक, ०५८ । चार्टर्ड ङ्खलाइटमा रहेको फिस्टेल एयरको हेलिकोप्टरले ११ बजेर ५ मिनेटमा रारा हेलिप्याडको पूर्वतर्फबाट सामान्य ‘टेकअफ’ गरेको थियो । हेलिकोप्टरमा थिए, तत्कालीन अधिराजकुमारी प्रेक्षा शाहसहित ६ जना । उडान क्याप्टेन रविन कडरियाको कमान्डमा थियो ।
पाइलटले हाइट लिनलाई एक फन्को लगाएका मात्र के थिए, अचानक हेलिकोप्टर खुर्मुरिएर तल खस्न थाल्यो । हेर्दाहेर्दै राराको पानीमा डुब्यो । उडेको करिब १ मिनेटमै हेलिकोप्टर पानीभित्रै अलप भइसकेको थियो ।
‘हाई प्रोफाइल’ व्यक्ति परेको भए पनि ११ वर्षअघिको यो दुर्घटनाले त्यति धेरै महत्व पाएन । दरबार हत्याकाण्डको प्रसंग ताजै रहेकाले सो दुर्घटना ‘ओझेलमा’ परेको थियो । दुर्घटनाको अनुसन्धान त भयो तर थुप्रै प्रश्न अझै रहस्यमै छन् । यतिसम्म कि दुर्घटनामा परेको ९ एन–एएफपी एएस–३५० बी इक्युरियल हेलिकोप्टरको मुख्य बडी नै भेटिएन । हेलिकोप्टरमा को–को परे र कतिजनाको मृत्यु भयो भन्ने यकिन तथ्यांकसमेत आउन सकेको छैन ।
दुई निकायले मृतकबारे फरक विवरण दिएका थिए । घटनापछि गठित छानबिन आयोगको प्रतिवेदनमा हेलिकोप्टरमा चालकसहित ६ जना यात्रु रहेको र उनीहरूमध्ये ३ जना ‘अझै हराइरहेको’ उल्लेख छ । क–कसको मृत्यु भयो र को–को हराएका हुन् भन्नेबारे प्रतिवेदन स्पष्ट छैन । प्रतिवेदनअनुसार हेलिकोप्टरका क्याप्टेन रविन कडरिया थिए भने यात्रुमा प्रेक्षा शाह, सेनाका तत्कालीन लेङ्खिटनेन्ट कर्नेल डा. ऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत थिए । उता, नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा विभागले संकलन गरेको हवाई दुर्घटना तथ्यांकमा भने रारा दुर्घटनामा चारजनाको मृत्यु भएको उल्लेख छ ।
दुर्घटनालगत्तै शाहको शरीर पानीमा देखिएको तर तुरुन्तै गायब भएको छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ । ‘हेलिकोप्टर र हराइरहेका यात्रुको शव अहिलेसम्म भेटिएको छैन,’ प्रतिवेदनमा भनिएको छ । हेलिकोप्टरको सामान राख्ने ढोकाको टुक्रा, अक्सिजन सिलिन्डर, सिट कभर, कुसन र केही व्यक्तिगत सामान मात्र फेला परेको थियो । राराताल १ सय ६७ मिटर गहिरो छ ।
तत्कालीन छानबिन आयोगका सदस्य–सचिव यज्ञप्रसाद गौतम पुरानो घटना भएकाले आफूलाई केही याद नभएको बताउछन् । तर, हेलिकोप्टरको पार्टपुर्जा तथा हराएका शव खोज्न विदेशबाट समेत गोताखोरहरू ल्याएको सम्झना गौतमलाई छ । ‘कयौं दिनसम्म नेपाली तथा विदेशी गोताखोरहरूले रारामा डुबुल्की मारेका थिए,’ गौतमले भने । संस्कृति तथा पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव भएकाले उनलाई छानबिन आयोगको सदस्य–सचिव बनाइएको थियो । गौतम हाल सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव छन् ।
छानबिन आयोगका संयोजक तत्कालीन सहन्यायाधिवक्ता कृष्णराम श्रेष्ठ थिए भने सदस्यहरूमा सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल खगेन्द्रबहादुर श्रेष्ठ, नेपाली सेनाका भिभिआइपी ङ्खलाइट इन्जिनियरिङ इन्चार्ज ओमप्रसाद श्रेष्ठ, सेनाका हेलिकोप्टर पाइलट सुधीर श्रेष्ठ, पर्यटन मन्त्रालयका उपसचिव उदयराज सापकोटा र नागरिक उड्डयन प्राधिकरणका चिफ पाइलट प्रभाकर घिमिरे थिए । तत्कालीन सरकारको निर्णयअनुसार छानबिन समितिले २५ फागुन ०५८ देखि खोजी तथा उद्धारकार्य बन्द गरेको थियो ।
छानबिन प्रतिवेदनले घटनाको दोषी पाइलटलाई नै देखाएको छ भने प्रारम्भिक कारणको रूपमा गलत उडान प्रक्रियालाई औंल्याइएको छ । पाइलटले उचित हाइट ‘मेन्टेन’ नगरेको र तौलको पनि बेवास्ता गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार टेकअफको समयमा हेलिकोप्टरको तौल एक हजार आठ सय २८ किलोग्राम थियो । सो हेलिकोप्टरले राराअघि डोल्पाको शे–फोक्सुन्डो माथि पनि उडान गरेको थियो । शे–फोक्सुन्डो तीन हजार ६ सय मिटर उचाइमा छ भने रारा दुई हजार सात सय मिटर उचाइमा अवस्थित छ ।
रारा दुर्घटना हालसम्मकै रहस्यमय रहेको र विवादित तथ्यांक आएको हवाईविद् बताउछन् । उनीहरूका अनुसार रविन कडरिया निकै अनुभवी पाइलट मानिन्थे । उनले ‘हाई अल्टिच्युड’मा धेरै कठिन उद्धारको काम गरेका थिए । रारामा दुर्घटना भएकै मोडलका नया डिजाइनका हेलिकोप्टर नेपाली आकाशमा अहिले पनि उडिरहेका छन् । सम्बद्ध कम्पनीहरूका अनुसार रारामा दुर्घटना भएको हेलिकोप्टर ‘बी’ सिरिजको पहिलो नम्बरको हो भने हाल तेस्रो नम्बरका हेलिकोप्टर सञ्चालनमा छन् ।
दुर्घटनाग्रस्त सिंगल इन्जिन हेलिकोप्टर सन् १९९० मा फ्रान्समा बनेको थियो । दुर्घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक भइसकेको भन्दै फिस्टेल एयरका अधिकारी यसबारे बोल्न चाहेनन् । अन्य दुर्घटनाको जस्तै सो दुर्घटनाको पनि इन्सुरेन्स रकम भने पाएको कम्पनीका एक अधिकारीले बताए ।
रारा दुर्घटनामा मृत्यु भएकी प्रेक्षा पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी पत्नी हुन् । पहिल्यैदेखि धीरेन्द्रको परिवारमा दुःखद् घटना घट्दै आएका छन् । विभिन्न विवादित घटनामा मुछिएका धीरेन्द्रले अधिराजकुमार उपाधि त्याग्नुपरेको थियो । पञ्चायती शासनकालमा विवादमा मुछिएका धीरेन्द्रको ०४५ सालमै प्रेक्षासग पारपाचुके भएको थियो । दरबार हत्याकाण्डमा दाजु वीरेन्द्रलाई बचाउन खोज्दा गोली लागेर उनको मृत्यु
भएको थियो ।
दुई वर्षअघि प्रेक्षाकी छोरी शीताष्मा शाहले समेत आत्महत्याको प्रयास गरेको समाचार बाहिर आएको थियो । उनी प्रेक्षाकी माइली छोरी हुन् । उनका पति अविनेश शाहको मुटु रोगका कारण चार वर्षअघि निधन भयो । शीताष्माले हाल दरबारमार्गमा बुटिक चलाउदै आएकी छन् ।

प्रतिक्रिया