हतियार नदिन चेतावनी

बाकु, रुसले सिरियाका विद्रोहीलाई हतियार उपलब्ध नगराउन अरब र पश्चिमी राष्ट्रलाई चेतावनी दिएको छ । विद्रोहीलाई हतियार उपलब्ध गराए सिरियामा लामो समयसम्म रक्तपात मच्चिने चेतावनी रुसले दिएको छ ।
अजरबैजान भ्रमणमा रहेका रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले बुधबार यस्तो चेतावनी दिएका हुन् । विद्रोहीलाई जस्तोसुकै सहयोग गरे पनि उनीहरूले सिरियाली सुरक्षाकर्मीलाई पराजित गर्न नसक्नेतर्फ सचेत हुन उनले सबैलाई सचेत गराएका छन् ।
आइतबार खाडी राष्ट्रहरूले सिरियाली राष्ट्रपति बासर अल असदको शासनविरुद्ध संघर्षरत विद्रोहीलाई तलबभत्ता दिने घोषणा गरेका थिए । साउदी अरब, कुबेतजस्ता सुन्नी मुसलमानको बाहुल्य रहेको राष्ट्रले सिरियाली विद्रोहीलाई अत्याधुनिक हतियार दिएर सहयोग गर्नुपर्ने बताइरहेका बेला रुसले यस्तो चेतावनी दिएको हो । विदेशमन्त्री लाभरोभले सिरियामाथि बाह्य सैन्य हस्तक्षेप भए झन् भयानक परिणाम निम्तिने दाबी गरे । यद्यपि, उनले सिरियामा रक्तपात रोक्न राष्ट्रपति असदले पहिलो कदम चाल्नुपर्ने प्रस्ट पारे । (एजेन्सी)

प्रतिक्रिया