चोरी गर्ने उपसचिव कारबाहीस्वरुप जगेडामा

काठमाडौं, २२ चैत । गाडीको टायरलगायतका पाटपुर्जा चोरी गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव नारायणराज तिमिल्सिनालाई जगेडामा पठाइएको छ । कार्यालयको ग्यारेजमा रहेका गाडीका पाटपुर्जा चोरी गरेको पुष्टि गर्दै उपसचिव तिमिल्सिनालाई सामान्य प्रशासन मन्त्रालयअन्तर्गत जगेडामा पठाइएको हो ।
सहसचिवमा बढुवाका क्रममा रहेका उपसचिव तिमिल्सिनाले यही ४ चैतमा प्रधानमन्त्री कार्यालयको गाडी तथा मोटरसाइकलका सामान चोरी गरेको पाइएको थियो । उनले सार्वजनिक बिदाको दिन सिंहदरबार गएर गाडीमा प्रयोग हुने म्युजिक प्लेयर, लुकिङ ग्लास, मोटरसाइकलको दुइटा पाङ्ग्रा, चेन पकेटलगायत १३ थान सामान चोरेका थिए । एक सहयोगीलाई समेत पासबिनै सिंहदरबारभित्र प्रवेश गराएर गाडीका सामान चोरी गरी बाहिर लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेपछि चोरीको रहस्य खुलेको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा उपसचिव तिमिल्सिनालाई जगेडामा पठाइएको हो । ‘चोरीमा संलग्न भएको भनिएका उपससचिवलाई तुरुन्त कडा कारबाही गर्नुस्,’ प्रधानमन्त्रीले मुख्यसचिव माधवप्रसाद घिमिरेलाई दिएको निर्देशन उद्धृत गर्दै एक सचिवले भने, ‘त्यसैले छानबिन समितिको प्रतिवेदन नआउदै उनलाई जगेडामा पठाइएको हो ।’
प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गर्न सहसचिव गेहनाथ गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले घटनाबारे छानबिन गरिरहेकाले केही दिनमै प्रतिवेदन बुझाउने र त्यसका आधारमा थप कारबाही गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले बताए । प्रवक्ता रेग्मीले भने,  ‘तिमिल्सिनालाई अहिले जगेडामा मात्र पठाइएको छ, छानबिन समितिको प्रतिवेदनका आधारमा थप कारबाही हुन सक्छ ।’ मुख्यसचिव स्रँेतका अनुसार तिमिल्सिना एक वर्षका लागि बढुवा रोक्कामा परेका छन् । उपसचिव तिमिल्सिनाले भने आफू जगेडामा पठाइएको विषयमा केही बताउन चाहेनन् । उनले सौर्यसग टेलिफोनमा भने, ‘जे नहुनु थियो भइगयो, म तपाईसग केही बोल्दिन ।’ तिमिल्सिनाले चोरी गरेको समाचार सौर्य दैनिकको १३ चैतको अंकमा प्रकाशन भएको थियो ।
ब्लु फिल्म हेर्ने कर्मचारी पनि सरुवा
प्रधानमन्त्री कार्यालयमै अश्लील भिडियो हेर्ने पञ्चबहादुर महर्जनलाई शासकीय सुधारमा सरुवा गरिएको छ । महर्जनले आगामी दिनमा कार्यालयमा त्यस्ता काम गरे कडा कारबाहीको चेतावनी दिएर सरुवा गरिएको हो । प्रवक्ता रेग्मीका पिए रहेका महर्जनसहित तीनजनाले कार्यालयमै ब्लुफिल्म हेरेको समाचार पनि सौर्य दैनिक को ११ चैतको अंकमा प्रकाशन भएको थियो ।

प्रतिक्रिया