‘पिपुल्स वार ग्रुपका नाममा आतंक’

काठमाडौं, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुप नामक संगठनले राजधानीमा आज झण्डै आधा दर्जन स्थानमा संकास्पद बस्तु राखेर आतंक मच्चाएको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्ण नजिक नामग्याल बसपार्कमा गु्रपले कालो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु छाडेर गएको प्रहरीले जनाएको छ । सो स्थानबाट प्रहरीले पिपुल्स वार ग्रुप लेखेको पम्प्लेट बरामद गरेको छ ।

नामग्याल बसपार्कमा बा.१ ख ८४१० नम्बरको बसमा शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।

सो ग्रुपले बा. २ ख ५१६८, बा. १ ख ८४१०, बा. २ ख १०१९ नम्बरका सवारी साधनमा समेत संकास्पद बस्तु झुण्डाएर आतंक फैलाएको प्रहरीले जनाएको छ ।
सोही गु्रपले लगनखेल, काठमाडौं मल, ओम अस्पतालमा समेत विष्फोटक पदार्थ राखेर सर्वसाधारणमा आतंक मच्चाएको छ ।

ती स्थानमा संकास्पद बस्तु रहेको सूचनाका आधारमा खट्टिएका सुरक्षाकर्मीले चेकजाँच तथा खोजतलास गर्दा बा.२ ख ५१६८ नम्बरको बसमा संकास्पद बस्तु फेला पारेको थियो ।

सो बसलाई प्रहरीले महाराजगंजमा फेला पारी पछाडि पट्टी शंकास्पद बस्तु र नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुप लेखेको पम्प्लेट फेला परेको जनाएको छ ।

ललितपुरको लगनखेल बसपार्क नजिक रुखमा झुन्डिरहेको अवस्थामा भने प्रहरीले सोही समूहको नाममा शंकास्पद वस्तु फेला परेको थियो ।

काठमाडौं महानगरपालिका–२२ मा रहेको काठमाडौं मलको शौचालयमा बम जस्तो शंकास्पद पोका फेला परेपनि पोकाभित्र कागजमात्र रहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले नुवाकोट जिल्लाको ताडीस्थित बा.२ ख १०१९ नम्बरको बसमा तलासी लिएको छ । संकास्पद बस्तु रहेको सूचनाका आधारमा सो बसमा खानतलासी लिएको जनाईएको छ ।

काठमाडौंबाट धादिङ गएको बा. २ ख ४१२६ नम्बरको मोइक्रोबसमा पनि चेकजाँच गर्दा सकेट बम जस्तो देखिने २ वटा सामान र नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुप लेखेको पम्प्लेट फेला परेको प्रहरी बुलेटीनमा उल्लेख छ ।

प्रहरीले यि घटनामा कसैलाई पक्राउ गरेको छ या छैन भन्ने बारेमा केही बताएको छैन । यद्यपि व्यस्त सहरमा आतंक मच्चाउने सो समूहको खोजी कार्य भईरहेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया