खोजखबर

दाहाल पुत्र प्रकाश सगरमाथा तर्फ प्रस्थान

सौर्य अनलाइन २०६८ चैत २२ गते ८:४३ मा प्रकाशित

काठमाडौं, २२ चैत । सगरमाथा आरोहणका लागि आवश्यक पर्ने रकमका बारेमा बिभिन्न जिज्ञासा र चर्चा चलिरहेका समयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित टोली सगरमाथा आरोहणका लागि प्रस्थान गरेको छ ।

त्रिभुवन विमानस्थलमा बिशेष कार्यक्रम गरेर एमाओवादी अध्यक्ष दाहालले टोलीलाई आज बिदाई गर्नु भएको हो । त्यस क्रममा दाहालले टोलीलाई लिएर बिभिन्न बिवाद भएको चर्चा गर्दै शान्ति र संविधानका लागि सगरमाथा आरोहणका लागि शुभकामना दिनुभएको थियो ।

शान्ति र संविधानका लागि भन्दै प्रकाश दाहाल सम्मिलित एमाओवादी नेता तथा कार्यकर्ताहरुको टोली सगरमाथा आरोहणका लागि प्रस्थान गरेको हो ।

टोली नेता एमाओवादी केन्द्रीय सदस्य कृष्ण केसी छन् । टोलीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका एक जना पूर्व अंगरक्षक समेत छन् ।

सरकारले सगरमाथा आरोहणका लागि उपलब्ध गराएको २ करोड रकमका बारेमा बिरोध भएपछि रकम नलिने घोषणा समेत गरेका थिए । उनीहरुले साढे दुई करोड जनतासंग एक एक रुपियां संकलन गर्ने भन्दै रत्नपार्कमा अभियान समेत गरेका थिए ।

यद्यपि सगरमाथा आरोहणका लागि आवश्यक पर्ने ठूलो रकमका बारेमा उनीहरुले केही भनेका छैनन् ।

प्रतिक्रिया