झापाका पत्रकार पौडेलको हत्या,चौतर्फी बिरोध

काठमाडौं, २२ चैत । झापा जिल्लाका पत्रकार एवं एभिन्यूज टेलिभिजनका स्थानीय सम्वाददाता यादव पौडेलको हत्या भएको छ ।

गएराति बिर्तामोडस्थित नयाँ बसपार्क नजिक सडकमा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ । उहाँको चिउंडो र आंखीभौंमा गहिरो चोट लागेको छ ।

हत्याको आशंकामा प्रहरीले होटल ब्यवसायी संघ झापाका पूर्व अध्यक्ष युवराज गिरीलाई नियन्त्रणमा लिएको छ । गिरी गएराति यादवसँग पूर्वाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा रहेका थिए ।

त्यसैगरी प्रहरीले अनुसन्धानका लागि पूर्वाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसका सञ्चालक सोम ढकाललाई पनि नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा सवार छ जना आएर उनको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनीहरुले होटलमा पत्रकार लुकेको छ यसलाई मार्छौ भनेर कराउदै हिडेको स्थानीयवासीले बताएका छन् ।

यसैबीच एभिन्यूज सम्वाददाता पौडेलको हत्याको पत्रकार महासंघले निन्दा एवं भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

महासंघको आज विहान काठमाडौंमा बसेको आकस्मिक बैठकले घटनाको छानविन गरेर दोषीलाई कारबाहीको माग गरेको छ । घटना बारेमा अध्ययन गर्न महासंघले छानविन अध्ययन टोली समेत गठन गरेको छ ।

यसैवीच, प्रधानमन्त्री बाबराम भट्टराईले पत्रकार पौडेलको हत्या भएका बिषयमा आफू गम्भिर रहेको भन्दै घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

उता, नेपाल आदिवासी जनजाति पत्रकार संघ, फोटो पत्रकार क्लब, पत्रकार महासंघ एभिन्यूज शाखा, टेलिभिजन एडिटर्स गिल्ड, दाङ–काठमाडौं जर्नालिष्ट एसोसिएसन, रिपोर्टर्स क्लव नेपाल, सुदूरपश्चिम पत्रकार समाज, नेपाल पत्रकार महासंघ, नया पत्रिका प्रतिष्ठान शाखा लगायतका संञ्चारसम्बद्ध संस्थाहरुले घटनाको बिरोध गरेका छन् ।

 

दाङले दियो यादवलाई श्रद्धाञ्जली

उता, दाङमा एभिन्युज टेलिभिजनका झापा संम्वाददाता यादव पौडेलको गएराति भएको हत्याको विरोध गर्दै आज दाङका पत्रकारले उनलाई श्रदाञ्जली दिएका छन् ।

नेपाल पत्रकार महासंघमा आबद्ध स्थानीय सञ्चारकर्मी, एभिन्युज दाङका सम्वाददाताको सक्रियतामा भएको श्रदान्जली सभामा सञ्चारकर्मी माथि भएको विभत्स हत्याको विरोध गरिएको छ ।

सभामा दोषीको पहिचान गरी तत्काल कारवाहीको माग र पीडित परिवारलाई उचित राहातको माग गरिएको दाङबाट रीता लामाले जनाएकी छन् ।

प्रतिक्रिया