राजको रहस्य

दुई सयको साइकल हुइक्याउदै एउटा किशोर वयको ठिटो दिनहु सातदोबाटोबाट लगनखेलको यात्रामा निस्कन्थ्यो । ऊ जिम गथ्र्यो । नृत्य सिक्थ्यो र पढाउथ्यो । एकदिन लगनखेल चोकैमा ठूलो भिड लागेको देख्यो । किशोरले साइकल रोक्यो । ‘के रहेछ ?’ भनेर भिड छिचोल्दै सबैले झै उसले माथि हेर्‍यो । देख्यो– तत्कालीन चर्चित नायक रमेश उप्रेतीको ‘होडिङबोर्ड’ टागिएको रहेछ ।
केही नबोली किशोरले मनमनै संकल्प गर्‍यो, ‘एकदिन मेरो फोटो पनि यसरी नै झुन्ड्याएर देखाउछु ।’ ‘एडल्ट चलचित्र’को  सर्टिफिकेट पाएको चपली हाइटबाट डेब्यु गरेका नायक राज घिमिरेको फोटो उनकै संकल्पअनुसार झुन्डिएको छ । राजले भने, ‘जीवनमा के मात्रै गरिएन ?’ हालसालै पाएको प्रख्यातिभन्दा कुनै दिन दुई सय रुपियाको साइकल चढेर जिम गर्न जादा ‘सस्तो केरा’ खोज्दै हिडेको पल सम्झन्छन् उनी ।
विक्रम संवत् २०३८ मंसिर २० गते यज्ञकुमारीको सन्तानका रूपमा जन्मिएका राज अहिले जति चर्चामा छन्, उनको हृदयमा त्यत्तिकै गहिरो संघर्षको कथा समेटिएको रहेछ । के थियो त्यो कथा ? उनले भने, ‘सबै कथा भनेर साध्य छैन, यति सत्य हो म जन्म लिने बाबुको नामसम्म लिन सक्दिन । कर्म दिने बाबु आलोक नेम्वाङ हुन् ।’ उनको आदर्श छ, ‘घाउलाई धेरैपटक कोट्यायो भने रगत मात्रै आउछ ।’
नेपालको चलचित्र क्षेत्र अहिले नै हलिउड, बलिउड भइनसकेको राम्ररी बुझेका नायक राज भन्छन्, ‘बुढेसकालमा कलाकारको हालत गोपाल भुटानीको जस्तो नहोस् ।’ त्यही बुझेर तपाईंले राजनीति र बिजनेसमा हात हालेको हो भन्ने जिज्ञासमा उनी भन्छन्, ‘निश्चय पनि । त्यतिमात्र होइन, जीवनलाई सार्थक बनाउने हो भने एउटा मात्रै काम गरेर हु“दैन । जति सक्यो गर्नुपर्छ ।’ राज कलाकारितास“गै घरजग्गा कारोबार, फार्मिङ, समाजसेवा र एनेकपा (माओवादी) मा सम्बद्ध भएर राजनीति पनि गर्छन् ।
जीवनको खाने–खेल्ने उमेरमा उनले ‘धेरैथोक’ गरेका छन् । जन्मस्थल गोदावरीमा गोठालो बनेका छन् । ‘रिल’भन्दा ‘रियल’ अत्यन्त जटिल बितेको रहेछ राजको । राजले त्यो खोल्न चाहेनन्, यत्ति भने, ‘आर्थिक समस्याका कारण मैले १२ कक्षा ‘टप’ गरे पनि तीन वर्ष पढाइ छाड्नुपर्‍यो ।’ असाध्यै गाह्रो अवस्था आइलागे पनि राजले साहस तोडेनन् । उनले भने, ‘मान्छेले आट गर्नुपर्छ, समय आउछ ।’ सामान्य जागिरेदेखि शिक्षकसम्म बनेका राजलाई लागेछ, ‘घर नत्यागी केही प्राप्ति हुदैन ।
राज आमालाई एक्लै छाडेर २०५७ ५८ तिर काठमाडौं पसेका थिए । जिम सिकेछन् । डान्स जानेछन् । मोडल बन्ने सानैदेखिको उत्कट चाहना यथार्थमा उतार्ने प्रयास थालेछन् । यही सिलसिलामा उनले तुलसी घिमिरेलाई भेटे । तुलसीले सन्तोष पन्तलाई भेट्न भने । राजले भने, ‘सन्तोष पन्तलाई म अहिले पनि धन्यवाद दिन्छु । उहाले मलाई हिजोआजका कुरामा मौका नदिएको भए मभित्रको कलाकार धेरै चाडो बाहिर आउने थिएन होला ।’
सात–आठ वर्षअघि हिजोआजका कुरा खेलेर उनले २६ सय रुपिया हात पारेछन् । खुसी भएर साथीभाइलाई दुई सयको नास्ता खुवाए रे । ‘मेरो रोल त पिलिक्क आयो पिलिक्क गयो,’ नायक राजले भने, ‘पछि त म सन्तोष पन्तको छोराको लामै रोलमा पनि देखिए“ ।’ पाच–छ वर्षपछि पूर्णरूपले राजनीतिमा आउने सोच बनाएका राज अहिले पनि त्यसको जग बनाउने काम गर्दै रहेछन् । उनले भने, ‘गोदावरीमा मैले किरियापुत्री घर, बाटो, पौवा बनाएको छु । सरसफाइ अभियान चलाएको छु । आफू पढ्न नपाएको पीडामा कसैलाई पढाएर आत्मसन्तुष्टि लिदै छु ।’
झन्डै २९ वटा गीति भिडियो र चारवटा विज्ञापनमा खेलिसकेका राजको मोडलिङको यात्रा पनि कम रोचक रहेनछ । ‘ब्याब प्रोडक्सन’का बारेमा खुबै सुनेका राजले त्यो कम्पनीको मालिक पत्ता लगाइछाडेछन् । आज तिनै आलोक नेम्वाङ उनका लागि कर्म दिने बाबु बन्न पुगे । ‘पुतलीसडकमा उनको कम्पनी थियो । मैले पाच बजेदेखि नौ बजे रातिसम्म पर्खिए । बल्ल भेट भयो । आलोक दाइ त बोल्दै नबोल्ने,’ राजले भने, ‘तेस्रो दिन घरमै बोलाए । नक्साल मन्दिरनेर आफै“ लिन आए । मलाई लाज लाग्यो ।’ त्यसपछि त के, तीन दिनपछि नै सारा खुसी तिम्रै लागि गीतमा जमिहालेछन्, राज । त्यसपछि फिल्मको नायक बन्ने अफर पनि आएछ । राजले भने, ‘भिडमा हराएको काग बन्ने चाहना भएन, धैर्य गर्नुपर्छ, सफलता हात पर्छ, पर्छ । मान्छेले गर्न नसक्ने के छ र ?’

प्रतिक्रिया