‘दाहाल र भट्टराई आत्मसमर्पणवादी’

काठमाडौं, २१ चैत । एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईमा राष्ट्रिय आत्मसमर्पणवाद र नोकरशाही प्रवृत्ति बढ्दै जान थालेको आरोप लगाएको छ ।

उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाले आज संयुक्त रुपमा विज्ञप्ती जारी गरेर संस्थापन पक्षले पारित गरेको हालैको प्रस्तावले दाहाल र भट्टराई अराजक व्यक्तिवादी दिशामा तीव्र रुपमा बढ्न थालेको आरोप लगाएका छन् ।

‘दुवै पक्षको पहलमा प्रस्तुत तथा पारित प्रस्तावले नेतृत्व दार्शनिक रुपमा व्यवहारवाद, राजनीतिक रुपमा दक्षिणपन्थी संशोधनवादी विर्सजनवाद, वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवाद र सांगठनिक रुपमा एकैसाथ गम्भीर प्रकारको नोकरशाही प्रवृत्ति तथा अराजकतावादी व्यक्तिवादको दिशामा तीव्र रुपमा बढ्दै जान थालेको छ ।’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।

बैद्य समूहले दाहाल र भट्टराईबीच यस अघि देखिएका अन्तर हट्दै जानुले आशंकाहरु जन्माएको आरोप समेत लगाएको छ ।

अध्यक्ष दाहालले सहमतिका लागि भएका द्विपक्षीय प्रस्तावको उलंघन गरेको आरोप लगाउदै बैद्य समूहले प्रधानमन्त्रीको राजीनामा मागको बिषयलाई न्यूनतम राजनीतिक मूल्य र संस्कार विपरीत लिईएको जनाईएको छ ।

अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा गराउन सक्दिन भनेर दिएको बिषयलाई बैद्य समूहले हास्यास्पदका रुपमा लिएको छ ।

केन्द्रीय समितिमा बहुमतीय होइन संयुक्त राष्ट्रिय सहमतिको सरकार गठन गर्न विशेष पहल गर्ने निर्णय भएको स्मरण गराउदै बैद्य र थापाले सहमतिको सरकार बनाउने बिषयमा प्रधानमन्त्रीको राजीनामा बाहेक अरु हुनै नसक्ने जनाएका छन् ।

‘अरुका लागि उपदेश दिने अर्थमा नभई वास्तविक जीवनमा स्वयम् आफैले लागु गर्ने अर्थमा ग्रहण गर्नु पर्दछ ।’ विज्ञप्तीमा दाहाल तर्फ संकेत गर्दै भनिएको छ, ‘कुनै पनि क्रान्तिकारी पार्टीका लागि एउटा सर्वाधिक ठूलो राजनीतिक मूल्य वा संस्कार भनेको सामूहिक रुपमा निर्णय गर्नु र त्यस अनुसार व्यवहारमा प्रस्तुत हुनु हो ।’

सरकार निर्माण गर्नका लागि मधेशी मोर्चासित गरिएको चार बुँदे सहमति, बाँकी घरजग्गा फिर्ता गर्न स्थानीय प्रशासनलाई प्रधानमन्त्री भट्टराईले दिएको निर्देशन, बिप्पा सम्झौता, पञ्चेश्वर तथा उच्च कोशी बाँध लगायतका विषयमा भारतसँग गरिएको हालैको सहमति पार्टी नीति र सहमति विपरित रहेको बैद्य र थापाको आरोप छ ।

सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र हुँदा हुँदै त्यसलाई लत्याई पार्टी नीति र निर्णय विपरीत व्यक्तिगत रुपमा सरकार चलाउनु कुनैपनि राजनीतिक मूल्य र संस्कार अन्तर्गत नपर्ने विज्ञप्तीमा भनिएको छ ।

बैद्य समूहलाई एक पक्षीय रुपमा नेतृत्वसँग छलफल समेत नगरी नयाँ ‘मोर्चा’ गठन गरेर सार्वजनिक कार्यक्रम घोषणा गरेकोमा संस्थापन पक्षले लगाएको आरोपको खण्डन गर्दै बैद्य र थापाले केन्द्रीय समितिको निर्णय एवम् निर्धारित नयाँ विधिको समेत गम्भीर उल्लंघन र अतिक्रमणलाई प्रमाणित गरेको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले केन्द्रीय समितिका बैठकमा पारित प्रस्तावको कार्यान्वयनमा आवश्यक ध्यान नदिएको तथा विद्यमान दुईलाइन संघर्षका समस्याहरुको समाधान गर्नेबारे पनि ठोस पहल नगरेको बैद्य समूहको आरोप छ ।

उनीहरुले अध्यक्ष दाहालको नयाँ प्रस्तावमा पार्टीभित्रको अन्तरलाई चर्काएर रुपान्तरणसहितको एकतातिर नभइ टुट, फुट र विघटनतिर धकेल्न प्रतिक्रियावादी र अवसरवादी तत्वहरुले असीमित तागत लगाइरहेको कुरा अरोप लगाए छन् ।
अध्यक्ष दाहाल र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टाईबीच विचार र चिन्तनका क्षेत्रमा आंशिक अन्तर नरहेको बैद्य समूहको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया