गोकर्णमा गच्छदारको दारुपार्टी

काठमाडौं, २० चैत । लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीका केन्द्रीय सदस्य र सभासद्हरूलाई गोकर्ण रिसोर्टमा लगी सुरापानसहित ‘रिल्याक्स’ गराएका छन् । सोमबार राति अबेरसम्म रिसोर्टमा लोकतान्त्रिकका नेताहरूको मोजमस्ती चलिरहेको थियो ।
खाने तथा पिउने कार्यक्रममा गृहमन्त्री गच्छदारका साथै लोकतान्त्रिक फोरमबाट प्रतिनिधित्व गर्ने अन्य मन्त्री र राज्यमन्त्री पनि रिसोर्ट पुगेका थिए । सवारीसाधन भएकाहरू आफ्नै सवारीमा गएका थिए भने अन्यका लागि तीनवटा टुरिस्ट बस रिजर्भ गरिएको थियो । गोकर्ण लैजान टुरिस्ट बस पार्टी कार्यालयमै  ल्याइएको थियो ।
पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सिद्धिनेबित्तिकै नेताहरूलाई सोझै रिसोर्ट लगिएको हो । शनिबारदेखि लगातार तीन दिन बसेको बैठकमा केन्द्रीय सदस्यहरूबीच चर्काचर्की भएको थियो । सोमबार बैठक भइरहेका बेला पार्टी अध्यक्ष गच्छदारले भने, ‘आज हामीले धेरै कुरा गर्‍यौं । लागेको कुरा सबै भन्यौ । आज सगै खाना खाएर रमाइलो गरौ । कति भनाभन मात्र गर्ने ?’
गच्छदारले सबै केन्द्रीय सदस्यलाई हौस्याउदै थपे, ‘आज हामीले ‘ज्वाइ खाना’ खाने । ज्वाइ मेजमान गर्ने ।’
केन्द्रीय सदस्यहरूले खुसी हुदै ताली पिटेका थिए । सुरुमा धुलिखेल जाने कार्यक्रम बनाइएकामा पछि गोकर्ण रिसोर्ट जाने तय भएको थियो । ‘अब हामी सगै बसेर खाना खान जाने’ भन्दै गच्छदारले बैठक टुंग्याएका थिए ।
बैठकपछि गरिएको पत्रकार सम्मेलनमा गच्छदारले सञ्चारकर्मीलाई देखाएरै उपनेता शरत्सिंह भण्डारीसग हात मिलाएका थिए । ‘हामीले हात मिलाएको फोटो पनि खिच्नुहोस्,’ गच्छदारले सञ्चारकर्मीलाई भनेका थिए । गच्छदार र भण्डारीबीच केही समयदेखि अन्तद्र्वन्द्व चलिरहेको छ ।
गोकर्ण रिसोर्टको दरबार हलमा केन्द्रीय सदस्य र सभासद्ले खानपिन गरे । ६२ सदस्यीय केन्द्रीय समितिका सबै सदस्यका लागि उनीहरूको रुचिअनुसार खानपिन र मदिराको व्यवस्था गरिएको थियो । सुरुमा केन्द्रीय सदस्यहरूबीच ठट्यौली चल्यो । गृहराज्यमन्त्री भीमराज राजवंशीले थरीथरीका जोक भनेर केन्द्रीय सदस्यहरूलाई हसाएका थिए । कार्यक्रममा मासु र मदिराका थरीथरी आइटम थिए । मासु नखानेका लागि पनि छुट्टै व्यवस्था थियो । रिसोर्टमै रात बिताउने व्यवस्था गरिएको भए पनि अधिकांश नेता राति अबेर रिसोर्टबाट फर्किएका छन् ।
रिसोर्टमा नेताहरू पुगेपछि गृहमन्त्री गच्छदारले ‘नया“ वर्ष ०६९ को शुभकामना साटासाट गर्न यहा“ आएको बताएका थिए । उनले भने, ‘अब सबै तीता कुरा बिर्सौं र एकजुट होऔ ।’ त्यसपछि खानपिन र ह“सिमजाक सुरु भएको थियो । गच्छदार राति अबेरसम्म रिसोर्टमै थिए ।
‘हामी यहा रमाइलो गरिरहेका छौ । खानपिन भइरहेको छ । कति राजनीतिक कुरा मात्र गर्ने,’ रिसोर्टमा रहेका सभासद् रामानन्द मण्डलले भने । केन्द्रीय सदस्य सर्वदेव ओझाले राजनीतिक कारणबाट नभई खानपिनका लागि मात्र गोकर्ण आएको बताए ।
गोकर्ण रिसोर्टको खानपिनमा शरत्सिंह भण्डारी, निलम बर्मालगायत असन्तुष्ट खेमाका नेता भने उपस्थित भएनन् । खानपिनको खर्च पार्टीले व्यहोर्ने सभासद् प्रमोद गुप्ताले दाबी गरे । ‘यो पार्टीको काम हो । यसको खर्च पार्टीले नै व्यहोर्छ,’ गुप्ताले भने ।
सोमबार पार्टीको बैठकमा गच्छदारसग असन्तुष्ट मानिएका नेताहरूले गच्छदारप्रति आक्रोश पोखेका थिए । गच्छदारकै शैलीका कारण चारबुदे कार्यान्वयन नभएको, सत्तामुखी प्रवृत्ति हावी भइरहेको आरोप नेताहरूले लगाएका थिए । बैठकको अन्त्यमा उपेनता भण्डारीले अध्यक्ष गच्छदारप्रति असन्तुष्टि पोखेका थिए भने त्यसपछि गच्छदारले बोलेका थिए । गच्छदारले ‘चैतसम्म पर्खौं, त्यसपछि पनि केही भएन भने केही गरौला’ भनेर असन्तुष्ट नेताहरूलाई थुमथुम्याउने प्रयास गरेका थिए ।
चैतपछि कठोर कदम चाल्ने
लोकतान्त्रिक फोरमले चैतभित्र शान्तिप्रक्रिया निष्कर्षमा नपुगे तथा पहिचान र संघीयतासहितको संविधान आउने सुनिश्चितता नभए ‘कठोर कदम चाल्ने’ चेतावनी दिएको छ । तीन दिनसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेताले संघीयता पक्षधरसग एकता गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा संसदीय दलका उपनेता शरत्सिंह भण्डारीले पनि चैतपछि कठोर कदम चाल्न आफूहरू एक भएको बताए । ‘चैतपछि कठोर कदम चाल्न हामी एक भएका छौ,’ भण्डारीले भने ।

प्रतिक्रिया