सेना समायोजनको बिषय बिशेष समितिकै

काठमाडौं, २० चैत । दोस्रो ठूलो विपक्षी दल एमालेले शान्ति प्रक्रियाका सहमति हुन बाँकी बिषयलाई माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिबाटै टुङगो लगाउनुपर्ने धारणा दोहराएको छ ।

पार्टी मुख्यालय बल्खुमा आज बसेको एमाले स्थायी समितिको अनौपचारीक बैठकले शान्ति प्रक्रिया अन्तर्गतको सेना समायोजनको काम बिशेष समितिलनै गर्नुपर्ने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘सेना समायोजन सम्बन्धी निर्णय बिशेष समिति मार्फतनै गर्नुपर्छ, त्यो भन्दा बाहिर जान सकिदैन ।’

लडाकु समायोजनका बिषयमा बिभिन्न खालका प्रचार प्रसार भईरहदा पार्टीगत धारणा बनाउन एमालेले आन्तरिक छलफल गरेको हो । एमालेले सात बुँदे सहमतिलाई आधार मानेर समायोजन गर्ने भन्दै माओवादीलाई सहमतिको पालना गर्न भनेको छ ।

माओवादी सेनाका लडाकुको समायोजनको जिम्मेवारी सरकार अथार्त नेपाली सेनालाई दिनुपर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले प्रस्ताव गरेपछि एमालेले त्यसको बिरोध जनाउदै आएको छ ।

उता प्रधानमन्त्री भट्टराईले पनि एमालेले शान्ति प्रक्रियामा अबरोध गर्दै आएको र गोयवल शैलीमा आफू बिरुद्ध प्रचार बाजीमा लागेको आरोप लगाईसकेका छन् ।

प्रतिक्रिया