दीपकलाई दुईपटक बिदाइ

काठमाडौं, १९ चैत । पछिल्लो ग्वाङ्झाओ एसियाडमा नेपालकै एक मात्र पदकविजेता बक्सर दीपक महर्जनले नेपाल बक्सिङ संघको बेथितिले गर्दा आइतबार अपमानित हुनुपर्‍यो । उनले यो अवस्था दुई महिनापछि लन्डनमा हुने ओलम्पिक खेलकुदका लागि एसियास्तरको छनोट खेल्न कजाखस्तान जान लाग्दा आयोजित बिदाइ कार्यक्रमको अवसरमा देखिएको हो ।
यस्तो मानिन्छ, बिदाइको क्षणमा खेलाडीहरूले एक किसिमको ऊर्जा पाउने गर्दछन् जसले उनीहरूलाई सुदूर खेलमा ‘केही गरी देखाउने’ हुट्हुटी दिने गर्छ । तर त्यस्तो कुनै ऊर्जा देखिएन, बक्सर दीपकमा । ग्वाङ्झाओमा नेपालकै एक मात्र पदक जितेर देशवासीमाझ चौतर्फी खुसी बाँडेका उनलाई आइतबार करिब दुई घन्टा बिताउन साँच्चै कठिन भएको देखिन्थ्यो । खेलमा प्रायः नआत्तिने उनी यसपटक भने निकै बेचैन देखिए । एउटै संघबाट दुईपटक बिदाइ हुनुपरेपछि उनी अप्ठयारोमा परेका हुन् । दुवै बिदाइ भव्य रहे पनि बक्सिङ संघभित्रको खिचलोले गर्दा यी खेलनायक साँच्चै ‘जोकर’ जस्तो बन्न पुगे ।
नेपाल बक्सिङ संघमा अहिले दुई नेतृत्व अस्तित्वमा छन् । ती दुई संघको नेतृत्व निवर्तमान अध्यक्ष रवि थापा र निवर्तमान महासचिव राजीव श्रेष्ठले गरिरहेका छन् । तर आधिकारिकताका विषयमा अझैसम्म टुंगो लाग्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्ले यस विषयलाई छानबिनकै क्रममा राखेको छ ।
राजीव नेतृत्वले दिउँसो १ बजे र रवि नेतृत्वले दिउँसो ३ बजे बिदाइ कार्यक्रमको आयोजना गरेका थिए । नेतृत्व विवाद कायम रहेका बेला दुव्ौ बिदाइलाई राखेपले राम्रै साथ दियो । पहिलो कार्यक्रममा कोषाध्यक्ष इन्द्रबहादुर थिङ र दोस्रोमा सदस्य रामकृष्ण बानियाँको उपस्थिति थियो । एउटै व्यक्तिको एउटै संघबाट बिदाइ भएकोले राखेप पदाधिकारी दोहोरिएनन् । अरूबेला सामान्य कार्यक्रममा पनि बिदाइका लागि उपस्थित हुने सदस्य-सचिव युवराज लामा कार्यकक्षमा रहेर पनि बिदाइमा सहभागी भएनन् ।
दुवै राखेप प्रतिनिधिले कसैको पक्ष भने लिएनन् । तर दुवै नेतृत्वले आफू नै आधिकारिक भएको दाबी गर्न भने छोडेनन् । ‘यस छनोटमा खेल्ने सम्पूर्ण चाँजोपाँजो मैले नै मिलाएको हुँ ।’ दुईवटा बिदाइ कार्यक्रमका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासा मेटाउँदै राजीवले भने । यता रवि थापा नेतृत्वका उपाध्यक्ष राम अवालेले दीपकले छनोट पार गरे ५० हजार रुपियाँ पुरस्कारको घोषणा गरे । अहिलेसम्म दीपक विष्ट र संगीना वैद्य मात्रले छनोट प्रतिस्पर्धा पार गरेर अेालम्पिक खेलेका छन् । ओलम्पिक छनोटमा सबै नेपाली खेलाडी असफल भइसकेका छन् । ‘म त खेलाडी हुँ । मेरो काम खेल्ने हो । यो बाहेक अरू म केही जान्दिन ।’
छैटौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा मतदाताको विषयमा विवाद हुँदा रवि समूह निर्वाचन स्थगित गरेर बाहिरिए पनि राजीव समूहले उपस्थित सदस्यबाट निर्वाचन सम्पन्न गरेको थियो । रवि समूहले सो निर्वाचनलाई अस्वीकार गर्दै आएको छ । यता राखेपले पनि दुवै पक्षको कमजोरी आंल्याउँदै आएको छ । स्मरण रहोस्, छैटांखेलकुदमा दुवै कमिटीलाई मान्यता नदिई राखेपले प्रशिक्षकस्तरको कमिटी बनाएर बक्सिङका खेल सञ्चालन गरेको थियो ।
५ देखि १२ अपि्रलसम्म हुने बक्सिङ छनोट प्रतियोगिता नेपाली खेलाडीका लागि लन्डन ओलम्पिकको छनोटबाट भित्रिने अन्तिम ढोकाको रूपमा रहेको छ ।

प्रतिक्रिया