एमालेले गोयवल्स शैली प्रचारमा लागेको छ

काठमाडौं, २० चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजन प्रकृयामा आफू पछि हटेको भन्दै ‘गोयवल्स शैली’मा प्रचार गरिएको भन्दै एमालेप्रति असन्तुष्टी जनाएका छन् ।

स्वकीय सचिव बिश्वदीप पाण्डेले आज प्रधानमन्त्री भट्टराईका तर्फबाट विज्ञप्ती जारी गरेर दलहरुवीच अनेकौंपटक भएका छलफलका आधारमा नेपाली सेनाले समायोजनका लागि अघि सारेको प्रस्तावमा अनावस्यक बिवाद गरेको भन्दै आपत्ति जनाएका छन् ।

सेनको सोही प्रस्ताव अनुसार नै समायोजन प्रकृया छिटो भन्दा छिटो सक्न प्रधानमन्त्री भट्टराईले प्रतिबद्ध जनाए ।

यसअघि सहमति भइसकेका बिषयमासमेत अड्को थाप्ने गरि बिशेष समितिका पछिल्ला वैठकहरुमा एमाले प्रतिनिधिहरु प्रस्तुत भएको भट्टराईको आरोप छ ।

एकपटक भइसकेका सहमतिलाई पालन गर्नुको सट्टा अनेक निहुँ खोज्दै समायोजन प्रकृयालाई नै भाँड्न खोजेको गम्भीर आशंका पैदा भएको भट्टराईले आरोप लगाए ।

एमाले नेतृत्व सरकारको पालादेखि तयार भएको सेनाको प्रस्तावलाई नस्वीकार्ने र ‘समायोजन’ हैन ‘भर्ना’को रुपमा अघि बढाउन खोज्ने प्रबृत्तिले नै समायोजन प्रकृयालाई अल्झाइरहेको भट्टराईको भनाई छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘समायोजन अघि बढाउने जिम्मा नेपाल सरकारलाई वा नेपाली सेनालाई दिने, भन्ने पहिलाकै सहमतिबाट एमाले पछि फर्केको वास्तविकतालाई ढाकछोप गर्न ‘प्रधानमन्त्री पछि फर्केको’ भनी गरिएको प्रचारबाजी भ्रामक, झुटो र शान्ति प्रकृयालाई भाँड्न खोज्ने आशयले आएको देखिन्छ ।’

समायोजन प्रकृया तिब्र गतिमा अघि बढेको देखेपछि केही निहीत स्वार्थ भएका शक्ति र खोल ओढेका प्रतिनिधिहरुले यो प्रकृयालाई भाँड्न खोजेको देखिएकाले यसबाट कोही पनि भ्रममा नपर्न प्रधानमन्त्री भट्टराईले आग्रह गरेका छन् ।

यसअघि भएका सहमतिअनुसार नै चैत मसान्तभित्र शान्ति प्रकृया सक्न र जेठ १४ भित्र जनताले चाहेको संबिधान जारी गर्न पनि आफू दृढ र प्रतिबद्ध रहेको भट्टराईले जनाए ।

प्रतिक्रिया