‘माओवादी संस्थापन पक्षका आमसभा’

काठमाडौं, २० चैत । एकीकृत माओवादीले शान्ति प्रकृया निष्कर्षमा पुराएर जनताको संविधान निर्माण र राष्ट्रिय स्वाधिनताका लागि भन्दै चैत २४ गते राजधानी लगायत मुलुकका प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

आज जारी विज्ञप्तीमा चैत २४ गते हुने दर्जन बढि सभाहरुका लागि माओवादीले केन्द्रीय नेतृत्वलाई वक्ताका रुपमा खट्टाएको छ ।

माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले साना दल र संगठनहरुसँग मोर्चा बन्दी सहित संघर्षका कार्यक्रम सार्वाजनिक गरेपछि संस्थापन पक्षले समेत समानान्तर कार्यक्रम सार्वजनिक गरेको हो ।

माओवादीको संस्थान पक्षले ऐतिहासिक जनआन्दोलन दिवसका अवसरमा शान्ति प्रकृयालाई सम्मानजनक निष्कर्षमा पुराउन, जनताको संविधान निर्माण गर्न र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि जनपरिचालन एवं जनसभाका कार्यक्रम र वक्ताहरु खट्टाईएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

जनआन्दोलन दिवसका अवसरमा हुने आमसभालाई पुष्पकमल दाहालले काठमाडौंमा, स्थायी समिति सदस्य कृष्णबहादुर महराले पोखरा, टोपबहादुर रायमाझीले बुटवल, गिरिराजमणि पोखरेलले विराटनगर, वर्षमान पुनले जनकपुर, लीलामणि पोखरेलले महेन्द्रनगर र प्रवक्ता दीनानाथ शर्माले बाग्लुङ्गमा सम्बोधन गर्ने छन् ।

त्यसै गरेर हरिबोल गजुरेलले उदयपुर, अग्नि सापकोटाले चितवन, शक्तिबहादुर बस्नेतले सुर्खेत, हिसिला यमीले काठमाडौं, नन्दकिशोर पुनले रोल्पा, चन्द्रप्रकाश खनालले सुनसरी, लोकेन्द्र विष्टले जुम्ला, देवेन्द्र पौडेलले नवलपरासी, हेमन्तप्रकाश वलीले पाल्पा, गोपाल किरातीले संखुवासभा, हितराज पाण्डेले गोरखा, पार्थ क्षेत्रीले इलाममा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

लेखराज भट्टले दिपायल, भीमप्रसाद गौतमले रौतहट, विश्वभक्त दुलालले हेटौडा, नवराज सुवेदीले सिन्धुली, लीलबहादुर थापाले बाग्लुङ, डिलाराम आचार्यले धनकुटा र गिरिधारीलाल न्यौपानेले पनि कपिलवस्तुमा हुने अलग अलग आमसभालाई सम्बोधन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

बैद्य समूहले जनसंविधानका लागि संघर्ष गरेको जनाएको भने संस्थापन पक्षले जनताको संविधानको नारा दिएको छ । उनीहरु दुबैले राष्ट्रिय स्वाधिनता र जनतन्त्रलाई भने स्वीकार गरेका छन् ।

प्रतिक्रिया