एमाले मुस्लिम संगठन दुई टुक्रा

काठमाडौं, १९ चैत । एमालेले आन्तरिक एकताको सन्देश तल्लो तहसम्म लैजान देशभर क्षेत्रीय आमसभा तयारी गरिरहेका बेला पार्टीनिकट मुस्लिम संगठन फुटेको छ । पार्टीनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनमा आबद्ध केही नेताले पार्टी केन्द्रीय कार्यालयमै भेला गरी समानान्तर संगठन खडा गरेका छन् ।
आइतबार पार्टी मुख्यालय बल्खुमा भएको भेलाले सभासद् रिजवान अन्सारीको संयोजकत्वमा ७५ सदस्यीय चौथो राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको हो । तीन महिनाअघि भएको चौथो राष्ट्रिय अधिवेशन अवैध घोषणा गर्दै भेलाले त्यसलाई खारेज गरेको निर्णय गरेको छ । अर्को समूहले गत २ पुसमा पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रमुख अतिथि बनाएर चौथो राष्ट्रिय अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनले महमुद आलमको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरेको थियो ।
दुई पक्षबीच विवाद रहेको संगठनमा अधिवेशनअगाडि नै तत्कालीन उपाध्यक्ष तथा सभासद् रिजवान अन्सारी, महासचिव ताज मिया र सदस्य तथा सभासद् अब्दुल कलाम आजादलगायत १६ पदाधिकारीले केन्द्रीय समितिबाट राजीनामा दिएका थिए । अधिवेशनअगाडि नै राजीनामा दिएर बाहिरिएको सो समूहले आइतबार पार्टी मुख्यालमा भेला आयोजना गरी चौथो राष्ट्रिय अधिवेशनका लागि आयोजक समिति गठन गरेको हो ।
आलम र अन्सारीको दुवै समूहले गाउ–गाउमा संगठन विस्तारमा लागेको जनाएका छन् । यसअघि जनसंगठनका विवादलाई पार्टीका वरिष्ठ नेताहरूले धाप दिएर आ–आङ्खनो पक्षमा च्याप्ने गरे पनि मुस्लिम संगठनको विवादमा भने पार्टी नेतृत्व सामेल देखिएको छैन । वीरगन्जमा तीन महिनाअघि भएको अधिवेशन पार्टी अध्यक्ष खनालले उद्घाटन गरेका थिए भने आइतबारको भेलामा पार्टीका शीर्षतहका नेता सहभागी थिएनन् ।
‘वीरगन्जमा भएको भनिएको अधिवेशन अवैध छ त्यसको वैधता पुष्टि गरे म राजनीतिबाटै सन्न्यास लिन्छु’ आइतबार गठित समानान्तर संगठनका संयोजक अन्सारीले भने, ‘पार्टी अध्यक्षलाई समेत मुछेर गरिएको त्यो अवैध अधिवेशन खारेज भएको छ र अधिवेशन गर्न आयोजक समिति बनेको छ ।’ आइतबार गठित समानान्तर संगठनले ६ महिनाभित्र अधिवेशन गर्ने र आगामी दुई महिना शान्तिप्रक्रिया र संविधान निर्माणका लागि दबाब अभियान चलाउने निर्णय गरेको अन्सारीले बताए । ‘यो दुई महिना शान्तिप्रक्रिया र संविधान निर्माण सफल पार्न दवाव अभियान चलाउछौं, त्यसपछि संगठन निर्माणको देशब्यापी अभियान चलाएर ६ महिना भित्र अधिवेशन गर्छौं’ अन्सारीले सौर्यसग भने ।
गत पुसमै अधिवेशन गरेको अर्को पक्षले भने बैधानिक हिसावले महाधिवेशन भइसकेको र केही मान्छेले आफ्नो स्वार्थपूर्ति गर्न बाहिरवाट ब्ल्याकमेलिङ गरेको हुन सक्ने दावी गरेको छ । ‘पार्टीको अनुमति र पार्टी अध्यक्ष झलनाथ खनाल स्वयंले उद्घाटन गर्नु भएको अधिवेशन विधान अनुरुप भइसकेको छ’ मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महमुद आलमले सौर्यसग भने, ‘केही मान्छेले स्वार्थपूर्तिका लागि बाहिरवाट ब्ल्याकमेलिङ गरेका हुन सक्छन् संगठनमा कुनै विवाद छैन ।’ आइतवार अर्को पक्षले पार्टी कार्यालयमा आयोजना गरेको भेलामा पार्टीका उपाध्यक्ष अशोक राई र सचिव विष्णु पौडेललाई निमन्त्रणा गरेको भनिए पनि उनीहरु भेलामा उपस्थित भएनन् ।
मुस्लिम संगठनमा विवाद बढेर एउटा पक्ष महाधिवेशनमा सहभागि नभएपछि एमालेले गत पुसमै विवाद मिलाउन पार्टीका तर्फवाट उपाध्यक्ष राई र सचिव पौडेललाई खटाएको थियो । उपाध्यक्ष राईले आइतवार समानान्तर संगठन गठन भएकोप्रति पनि अनभिज्ञता जनाए । ‘अर्को आयोजक समिति गठन भएको मलाई जानकारी छैन, बनाएको हो भने पनि त्यस्तो गर्नु हुदैन’ राईले सौर्यसग भने, ‘विवाद मिलाउन हामी निरन्तर संवादमा छौं कुरा मिल्छ ।’

प्रतिक्रिया