मौका आएपछि बोल्छुः पूर्वराजा

कैलाली, १९ चैत । सुदूरपश्चिमको धार्मिक भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफू र राजनीतिक दलबीच पहिले केही सम्झौता भएको दाबी गरेका छन् । सम्झौताको कुरा मौका पाएपछि सार्वजनिक गर्ने उनको भनाइ छ ।
सुदूरपश्चिमको चौथो दिनको भ्रमणका क्रममा शाहले आफू बसेको होटेल रुवसको अपिनाम्पा हलमा सञ्चारकर्मीसग यस्तो बताएका हुन् । उनले निर्धारित समयमा संविधान जारी गर्ने जिम्मा राजनीतिक दलकै भएको उल्लेख गरे ।
‘वर्तमान राजनीतिक शासन व्यवस्थाप्रति सर्वसाधारणजत्तिकै मलाई पनि चिन्ता छ,’ शाहले भने । देशको राजनीति कस्तो लागिरहेको छ भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘तपाईंलाई कस्तो लागेको छ, मलाई पनि उस्तै लागेको छ ।’

राजनीतिक भेटघाट
विशुद्ध धार्मिक भ्रमण भनेर गत १६ चैतमा सुदूरपश्चिम आएका पूर्वराजा धार्मिक कार्यक्रमका अलावा राजनीतिक भेटघाटमा पनि व्यस्त छन् । दिउसो पूजापाठमा संलग्न रहे पनि साझ बिहान भने उनी बसेको धनगढीस्थित रुवस होटेलमा राजनीतिक दल र समर्थकसग गोप्य राजनीतिक छलफल भइरहेको बुझिएको छ ।
भेटघाटको चाजोपाजो मिलाइरहेका राप्रपा नेपालका कैलाली जिल्ला सचिव तथा मूल स्वागत समारोह समितिका सचिव छत्र शाहीले केही राजनीतिक दलसग भेटका क्रममा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताए । उनले पूर्वराजासित भेट्ने दलका नेता तथा कार्यकर्ताको नाम भने सार्वजनिक गर्न चाहेनन् । भेटमा अहिलेको राजनीतिक अवस्था, शान्तिप्रक्रिया, सेना समायोजन र संविधान निर्माणको विषयमा छलफल भएको उनले जानकारी दिए ।
स्रोतका अनुसार पूर्वराजासग भेट्न आउनेहरूले शान्ति र संविधान निर्माणको विषयमा चासो दिइरहेका छन् भने केहीले राजसंस्था फर्काउन अनुरोध गरेका छन् । उनीहरूले पूर्वराजालाई राजसंस्था फर्काएर हिन्दू राज्य पुनस्र्थापनाका लागि पहल गर्नसमेत आग्रह गरेका छन् । ‘राजसंस्थामा विश्वास गर्ने दलका नेताहरूले मुलुकलाई राजसंस्था चाहिएको र हिन्दू राष्ट्र आवश्यक रहेको कुरा त गरिहाल्छन्,’ सचिव शाहीले भने ।
पूर्वराजाको मूल स्वागत समारोह समितिका हरिलाल भट्टराईले शाहको भेटघाट पूर्वयोजनाअनुसार सफल भइरहेको प्रतिक्रिया दिए । पूर्वराजासग राजनीतिक छलफलका लागि राजसंस्था आस्थावान दलहरू राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, शिव सेना नेपालका जिल्ला तथा सुदूरपश्चिम क्षेत्रीय नेताहरू बढी सक्रिय रहेका छन् ।
पूर्वराजाको भ्रमणका लागिकाठमाडौंबाटै उनका तीनवटा निजी गाडी ल्याइएका छन् । उनका सुरक्षाका लागि नेपाली सेनाको मेजरको कमान्डरमा १२ जना र सशस्त्रको प्रहरी निरीक्षकको कमान्डमा त्यति नै संख्यामा प्रहरी आएका छन् । त्यस्तै, राप्रपा नेपालका उपाध्यक्ष धवलशमशेर जबरा, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायत राजावादी उनीसगै यहा आएका छन् ।
स्वागतमा आउने नागरिक ओसार्न बस व्यवसायी समितिले सवारीसाधन उपलब्ध गराएको र त्यसमा आफूले तेल मात्र हालेको मूल स्वागत समारोह समितिका पदाधिकारीले बताए । स्वागतद्वार निर्माण र अन्य खर्चका लागि आर्थिक सहयोग उठाइएको र केही काममा शिव सेना नेपालका कार्यकर्ता स्वतस्फूर्त रूपमा परिचालन भएको उनीहरूको भनाइ छ । होटेल, जहाजलगायत खर्च पूर्वराजा शाहले आफै व्यहोर्ने मूल स्वागत समारोह समितिका संयोजक पारसबहादुर सिंहले जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि होटेल रुवसको चौथो तलाको स्विट हाउसमा बसेका छन् । पूर्वराजा चार दिनको भ्रमण पूरा गरी सोमबार राजधानी फर्कने कार्यक्रम छ ।

खाएको कसरी थाहा भो ?
खचाखच सञ्चारकर्मी उपस्थित भएको हलमा बेलुकी ८ बजे पूर्वराजा शाह चप्पल लगाएर आएका थिए । उनले सबै पत्रकारसित पालैपालो परिचय गरे । परिचयकै क्रममा सौर्य दैनिकका संवाददाताको हातै समातेर शाहले शनिबार सौर्यको प्रथम पृष्ठमा प्रकाशित समाचारबारे सोधेका थिए ।
‘तपाईंको पत्रिकालाई त मैले खाएको, पिएको सबै थाहा हुदो रहेछ,’ मुस्कान दिदै उनले यसो भन्दा हलमा उपस्थित सबै सञ्चारकर्मी पनि मुस्कुराए । प्रत्युत्तरमा ‘सरले खाएकै कुरा नै लेखिएको हो नि’ भनेपछि उनी थप मुस्कुराए । उनले शाहले आधा घन्टासम्म चार समूहमा सञ्चारकर्मी भएकै ठाउमा गएर संवाद गरेका थिए । फर्किने बेलामा पनि सौर्य संवाददातालाई शाहले उही प्रश्न दोहोर्‍याए, ‘मैले के–के खाए भनेर कसरी थाहा पाउनुभयो ह ?’

प्रतिक्रिया