‘नेताहरुको व्यस्तताका कारण शीर्ष बैठक स्थगित’

काठमाडौं, १९ चैत । बिभिन्न आयोग गठन, शान्ति र संविधानका बाँकी विषयमा सहमति जुटाउनका लागि आज बस्ने भनिएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ ।

कांग्रेसका सभापति सुशील कोइरालालगायतका केही नेताहरु उपत्यका बाहिर भएका कारण वैठक स्थागित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अपरान्ह चार वजेका लागि बैठक आह्वान गरिएको थियो ।

कांग्रेस नेताहरुले सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि साढे तीन बजे प्रधानमन्त्रीले शीर्ष बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्रीको निजी सचिवालयले स्थगित बैठक सोमबार बस्ने जनाएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका बारेमा समेत छलफल हुने कार्यक्रम थियो ।

शान्ति प्रक्रिया अन्तर्गत माओवादी लडाकु समायोजनको विधि, प्रक्रिया र मापदण्डका विषयमा प्रमुख दलहरुका बीचमा देखिएका फरकम मत लगायतका विषयमा छलफल गर्न तीन दलको बैठक प्रधानमन्त्री भट्टराईले बोलाएका थिए ।

माओवादी लडाकुलाई चैत मसान्तसम्म नेपाली सेना मातहत समायोजन गर्ने सहमति भएपनि विधि र प्रक्रिया राजनीतिक सहमति नभएको भन्दै अझै विशेष समितिले टुग्याउन सकेको छैन ।

प्रतिक्रिया