दर्ता एउटाको,चलाउने अर्कै

बाग्लुङ, १८ चैत । एउटा व्यक्तिको नाममा दर्ताका भएका औषधि पसल अरूले नै सञ्चालन गरिरहेको पाइएको छ । धौलागिरि अञ्चल अस्पताल आसपासमा रहेका इमर्जेन्सी मेडिकल हल, अर्पणा मेडिकल हल, हिमाल मेडिको फर्मा, मेघा मेडिकल हल, संगीता मेडिको फर्मा, समानान्तर मेडिको फर्मा र सविना मेडिकल हल अनधिकृत व्यक्तिले सञ्चालन गरेका हुन् ।
औषधि पसल दर्ताका लागि फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको र औषधि व्यवस्था विभागले सञ्चालन गर्ने अभिमुखीकरण प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ । तर, अधिकांश औषधि पसल अभिमुखीकरण नगरेका र अरूकै नाममा दर्ता भएको पाइएको स्थानीय रामचन्द्र थापाले बताए ।
‘क्याम्पसका प्राध्यापकदेखि वकिलका नाममा समेत औषधि पसल दर्ता छन्,’ स्थानीय भविलाल न्युरेले भने, ‘तर, उनीहरू पसलमा कहिल्यै देखिदैनन् ।’ नियमविपरीत औषधि पसल सञ्चालन गरेर जनस्वास्थ्यमा खेलबाड गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
कानुन व्यवसायी हरिप्रसाद शर्माको नाममा रहेको मेघा मेडिकल हल अहिले गुरुप्रसाद शर्मा र धौलागिरि बहुमुखी क्याम्पसका प्रा. शेषकान्त रिजालको नाममा रहेको रिजाल मेडिकल हल उनका भाइले सञ्चालन गरिरहेका छन् । विष्णुप्रसाद शर्माको नाममा रहेको इमर्जेन्सी मेडिकल हल रमेश शर्मा, लक्ष्मी खड्काको नामको पसल ऋषिराम शर्मा, कविता शाक्यको नाममा रहेको हिमाल मेडिको फर्मा चन्द्रदत्त रेग्मीले सञ्चालन गरिरहेका छन् ।
यस्तै, जानकी केसीको नामको पसल दिनेश जिसी, मिनुमाया थापाको नामको पसल समानान्तर मेडिको फर्मा शिशिर पन्त र बलबहादुर थापाको नामको सविना मेडिकल हल जीवन थापाले चलाइरहेका छन् ।
‘अनियमित ढंगले औषधि पसल सञ्चालन भएकाबारे गुनासो आएको छ,’ बाग्लुङका सिडिओ खेमबहादुर थापाले भने, ‘अध्ययन गरेर आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागसग सहकार्य गर्छौ ।’
औषधि व्यवस्था विभागका नासु राधारमणप्रसाद साहले एकजनाको नाममा औषधि पसल दर्ता गरेर अर्काको चलाउन नपाइने बताए । ‘त्यस्तो भेटिए कारबाही गर्छौं,’ उनले भने । साहले अनुगमनका क्रममा सबै व्यवसायी उपस्थित नहुने र त्यसैअनुसारको रिपोर्ट बनाउने गरिएको भन्दै स्थानीय प्रशासनको सहयोगमा अनुगमन र कारबाही गरिने बताए ।

 

चोरीको मोटरसाइकल चलाउने हवल्दार नियन्त्रणमा

वीरगन्ज, बारा कलैयामा युवा संघका कार्यकर्ताले चोरीको मोटरसाइकल प्रयोग गर्ने प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।
जोलाहीटोला प्रहरी चौकीमा कार्यरत हवल्दार अकलेश साह कलवारलाई चोरीको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको संघका सदस्य मोहन लामिछानेले बताए । कलवारले बी आर २२ सी ९७५७ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरिरहेका थिए । डिएसपी अनुराग द्विवेदीले कलवारमाथि अनुसन्धान गरिने बताए । (सौस)

प्रतिक्रिया