खामको सुरक्षामा ३ सशस्त्र प्रहरी

काठमाडौ, १८ चैत । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका जनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई प्रहरीले नै सुरक्षा दिइरहेको खुलासा भएको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या र तीन चिनिया व्यापारीलाई हतियार देखाई लुटेको आरोप लागेका खाम करिब तीन वर्षदेखि ‘फरार’ छन् ।
नेपाल प्रहरीले उनको खोजी भइरहेको बताए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा गृहमन्त्री विजयकुमार गच्छदारले उनको सुरक्षार्थ तीन सशस्त्र प्रहरी खटाएका हुन् । गच्छदारले आफ्नै सुरक्षामा परिचालित तीन प्रहरी खामका लागि पठाएको स्रोतले बतायो । स्रोतका अनुसार असई होमबहादुर घर्तीको कमान्डमा तीन सशस्त्र प्रहरीले सादा पोसाकमा खामलाई सुरक्षा दिइरहेका छन् ।
गृहमन्त्रीको सुरक्षार्थ सई प्रदीप खड्काको कमान्डमा १५ सशस्त्र प्रहरी खटाइएकामा हाल गच्छदारसित १२ सशस्त्र प्रहरी मात्र छन् । सई खड्काले हाल १२ जनाले मात्र सुरक्षा दिएको स्विकार्दै भने, ‘कोही बिदामा र कोही तालिममा गएकाले अहिले १२ जना मात्र छौ“ ।’ सई खड्काले असई घर्ती काठमाडौभित्रै तालिममा रहेको बताए पनि सशस्त्र प्रहरीको कुनै तालिममा उनी सहभागी भएको रेकर्ड छैन ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीले खामको सुरक्षा मिलाउन निर्देशन दिएपछि गृहमन्त्री गच्छदारले गृहसचिवलगायत केही उच्चपदस्थ कर्मचारीसित गत कात्तिक दोस्रो साता छलफल गरेका थिए । छलफलमा प्रहरी हेडक्वार्टरबाट सुरक्षाकर्मी खटाउदा विवाद आउने निष्कर्ष निकालिएको छलफलका एक सहभागीले बताए । उनले भने, ‘विवरण हेर्दा गृहमन्त्रीको सुरक्षामा खटाएको देखिने तर सुरक्षा खामको हुनेगरी व्यवस्था मिलाइएको हो ।’
यता, खामले प्रधानमन्त्री भट्टराई र पूर्वगृहमन्त्री कृष्णबहादुर महरासग नियमित भेट गर्दै आएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईलाई उनी बालुवाटारमै भेट गर्छन् भने महरालाई उनकै निवासमा । महरा निवासमा पुग्दा खामले उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई जिस्क्याउनेसमेत गरेका छन् । ‘तपाईंहरू मलाई पक्राउ गर्ने हो ?’ भन्दै गिज्याउने गरेको महराको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले सौर्यलाई बताए । उनले भने, ‘के गर्नु हामीलाई पक्राउ गर्ने आदेश छैन ।’
नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका खाम कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त मानिन्छन् । १४ लाख रकम र पेस्तोल चोरेको अभियोग लगाई श्रेष्ठको अपहरणपछि हत्या गरिएको थियो । २५ वैशाख ०६५ मा अपहरण र कुटपिट गरिएका श्रेष्ठको २६ वैशाखमा मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो । हत्या अभियोगमा उजुरी परेदेखि फरार रहेका खामले तीन चिनिया व्यापारीलाई पेस्तोल देखाई २६ लाख लुटेको अभियोगमा प्रहरीले उनको वासस्थानमा छापा मारेको थियो । प्रहरीले छापा मार्दा चिनिया व्यापारीबाट लुटेको रकम बरामद भएको थियो ।
२५ असार ०६७ मा गोंगबुको नवमित्र गेस्टहाउसमा बसेका तीन चिनिया व्यापारीलाई यार्सागुम्बा बेच्ने निहुमा लुटपाट गरेको अभियोगमा रुकुम ज्याङका गणेशबहादुर मल्ल, हुकामका सौगात बुढामगर, जितेन्द्र बुढामगर, कर्म शाही, पाल्पा मर्साङका लालबहादुर राना, तनहु नरभन्ज्याङका मिलन सेन ठकुरी, दाङ घोराहीका मधुसूदन शर्मा र नुवाकोट लिखुका अशोक खाती पक्राउ परेका थिए । सो लुटपाटका मुख्य योजनाकार खाम रहेको प्रहरीले बताउदै आएको छ । ‘फरार’ अवस्थामै १२ साउन ०६७ मा खामले एक टेलिभिजनलाई अन्तर्वार्ता दिएर प्रहरीले आफूलाई खोज्ने नौटंकी गरेको भन्दै खिल्ली उडाएका थिए ।
रोल्पाको दहवनस्थित माओवादी सेना पाचौ डिभिजनका कमान्डर रहेका खामको जन्मथलो रुकुम हो । स्रोतका अनुसार उनी प्रायःजसो काठमाडौंको सामाखुसी क्षेत्रमा भान्जी नाता पर्नेको घरमा बस्दै आएका छन् । खामलाई तीन सशस्त्र प्रहरीका साथै ६ जना प्रमाणीकृत जनमुक्ति सेना र केही भगौडा प्रहरीले सुरक्षा दिइरहेको स्रोतले बतायो ।
खामले केन्द्रीय समिति सदस्यको हैसियतमा माओवादीका बैठकमा भाग लिदै आएका छन् । माओवादीका केन्द्रीय समितिका एक सदस्यका अनुसार पेरिसडाडामा गत १ माघमा केन्द्रीय समितिको बैठकमा खाम सहभागी थिए ।
नेपाल प्रहरीका प्रवक्ता डिआजी विनोद सिंहले खामको खोजी भइरहेको बताए पनि थप प्रतिक्रिया दिन चाहेनन् । ‘तपाईं पत्रकार हुनुहुन्छ, खोज्नुभए हुन्छ नि †’ सिंहले उल्टै भने । गृह मन्त्रालयका प्रवक्त शंकर कोइरालाले पनि खामका लागि प्रहरी खटाइएको जानकारी आफूलाई नभएको बताए ।

प्रतिक्रिया