बन्दको प्रभाव यथावत

कैलाली, १८ वैशाख । लगातार चार दिनदेखिको बन्दका कारण सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । बन्दले अत्यावश्यक सामान, औषधीको अभाव भएको छ भने सयौं यात्रुहरु आफ्नो गन्तब्यमा जान नपाएर वसपार्क तथा बिच बाटोमा अलपत्र परेका छन् ।
राज्य पुनर्संरचना गर्दा सुदूरपश्चिमको हालकै मौजुदा संरचना कायम गरिनु पर्ने भन्दै गरिएको अनिश्चितकालिन बन्दका कारण दैनिक ज्यालामजदुरी गरेर खाने समुदायका मानिस बढी मारमा परेका छन् । बन्दका कारण दैनिक कराडौंको ब्यापार नोक्सान भइरहेको उद्योगीब्यापारीहरुले बताएका छन् ।
एक्कासी बन्दको घोषणा गरिएपछि कैलालीको धनगढी, अत्तरिया, महेन्द्रनगर बसपार्क लगायतका क्षेत्रहरुमा ठूलो संख्यामा सर्वसाधरणहरु आफ्नो गन्तब्यसम्म जान नपाएर बिचल्ली हुनका साथै बेखर्ची भएका छन् ।
भारतको पञ्जाबाट छोरीको विवाहका लागि भनेर घरमा जान आएका डोटीका उदय लोहारले विवाह गर्न ल्याएको पैसा होटलमा खाएरवसेर बताए । उनले सो रकम पनि सिद्धिन लागेको बताए । उनले बन्दका कारण एकातिर छोरीको विवाहपनि नहुने र अर्को तर्फ मजुदुरी गरेर ल्याएको पैसा होटलमा खाए सक्किएकोमा चिन्ता जनाएका छन ।
त्यस्तै भारतमा उपचार गरेर आएका विक्रम शाहीले ऋण गरेर उपचार गरेको भन्दै बन्दले होटलमा बसेर झनै धेरै ऋण लागेको गुनासो गरेका छन् । बन्दले बजार सुनसान रहेका छन् ।
कैलाली, कञ्चनपुर, डोटी लगायतका जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुपनि बन्द बन्द छन् । चार दिनदेखि यातायात, कलकारखाना, शैक्षिक संस्थापनि ठप्प छन् ।
बन्दका कारण लोकसेवा आयोग, १२ कक्षा तथा स्तानतक तह प्रथम वर्षको परीक्षा दिने केही परिक्षार्थी समेत प्रभावित भएका छन् ।
बन्दको अबज्ञा गरेको भन्दै कैलालीको राजिपुरमा आन्दोलनकारी १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।
बुद्ध र यती एयरलाइन्स्ले उडान भरेपछि स्थानीयले उडान समेत बन्द गरिदिएका छन् । बन्दकर्ताले एयरलाइन्सको कार्यालय तथा गेटा बिमानस्थलमा गएर उडान बन्द गराएका हुन् ।
बन्द कर्ताको धम्कि पछि उडान रोक्न बाध्य भएको बुद्ध एयर धनगढी प्रमुख कमल जोशीले बताए ।
बन्द फिर्ता लिन आग्रह
अखण्ड सुदूरपश्चिमको माग राखी लगातार रुपमा भइको सुदूरपश्चिम बन्दले जनजीवन प्रभावित भएको भन्दै विभिन्न संघसंस्थामा कार्यरत ब्यक्तिहरुले वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर बन्दले जनजीवन प्रभावित भएकोमा आफ्नो गम्भिर ध्यानकर्षण भएको भन्दै जुनसुकै नाममा गरिने बन्द हड्तालको बिपक्षमा छौं भनेका छन् ।

प्रतिक्रिया