बेड नं ६१ को एउटा कथा

वीर अस्पतालको अर्थोपेडिक वार्डको ६१ नम्बर बेड । त्यसमाथि लडिरहेकी राजकुमारी सुनार । सास फेरिरहेको मानव कंकालझैँ देखिन्छ उनको शरीर । म पुग्दा एकोहोरो कतै टोलाएर कोल्टो लडिरहेकी उनले सुनाइन्, ‘दशा लाग्यो । परिवारका निम्ति झमेला भयाँ ।’
विकट जुम्लाको कनकासुन्दरी–७ की राजकुमारी थला परेको एक दर्जन वर्ष ठ्याम्मै भएछ । पाखाबारीमा कोदो गोड्दै गर्दा अचानक २०५७ सालमा हिँड्न नसक्ने भएपछि उनलाई मान्छेले बोकेर घर पुर्‍याएको उनका कुरुवा पति भगीराम सुनारले सुनाए ।
उमेरले राजकुमारी ३५ वर्षकी मात्रै हुन्, तर बिमारीले लुछेर उनलाई ७० वर्षकी कमजोर वृद्धाजस्तै देखाइदिएको छ । ‘निको हुन ओखती खाएँ, ओखतीले मैलाई खायो’, राजकुमारीले भनिन्, ‘जोखेको भए चार पाथी पुग्ने थियो कि ?’ १४ वर्षमै भगीरामसँग विवाह गरेकी राजकुमारीका चार सन्तान छन् । ‘एक दिन अचानक हिँड्न नसक्ने भएँ । गह्राबाट बोकेर घर फाले’, उनले आफ्ना दु:खका दिन सुरु हुनुको कथा सुनाउँदै भनिन्, ‘त्यसयता त घरका लागि झन् मार्नु न पाल्नु भएकी छु ।’
राजकुमारी बिमारी भएपछि अस्पताल ल्याउने साहस भगीरामलाई भएनछ । उनले भने, ‘जोई–पोइले बोल्न नहुने समाज भयो । स्वास्नीको उपचार गर्ने कुरा सोच्न सकिनँ ।’ गाउँघरको ओखतीमुलोले राजकुमारीको अवस्था बीसको उन्नाइस नभएपछि अस्पतालै लैजाने निधो गरेछन् । साँझ–बिहान बाह्रै महिना खान नपुग्ने उनीजस्तो विकट जुम्लावासीलाई चार दिन परको नेपालगन्ज अस्पताल पुग्नु भनेको चारधाम गर्नुजत्तिकै थियो ।
एक दिन पैदल, तीन दिन बसयात्रा गरेर उनी २०६० सालमा राजकुमारीलाई लिएर नेपालगन्ज आए । त्यहाँका डाक्टर उषा शाह र गोपाल श्रेष्ठले पटक–पटक हेरे । केही निको पनि भयो । रोग फेरि बल्झियो । बेठी–मजदुरी गरेर कमाएको दानापानीले चार सन्तान, एकभाइको पालनपोषण र पढाइ–लेखाइ गर्न गाह्रो थियो । राजकुमारीका कुरुवा पति भगीरामले भने, ‘म गरिब छु, भएर के गर्नु ? छोराछोरीको मुख सम्झिएँ, साँझ–बिहान आँगनमा जिउँदी आमा देख्न पाए उनीहरूलाई धन्य होला भन्ने लाग्यो ।’
आफ्नो पीडा शब्दमा भन्न नचाहने राजकुमारीले अलिकति कोल्टे फर्कन खोज्दै भनिन्, ‘२०६४ सालमा सत्यसाई बाबा अस्पतालले दिएको १८ दिनको औषधिले चार वर्ष छयाङ्ग भयो, अस्तिबाट फेरि उस्तै भयो ।’
उनलाई आफूभन्दा पिर घरमा छाडेर आएका छोराछोरीको छ । खाए कि खाएनन् भन्दा पनि बढेकी छोरी (१६ वर्ष) जंगलजस्तो गाउँमा छाडेर आउनुपर्दा के पो भयो ? भन्ने चिन्ताले पोल्दो रहेछ । त्यसैले बेलाबेलामा उनको रक्तचाप अनियन्त्रित हुन्छ । ‘डाक्टरले चिन्ता नगर्नू भन्छन्, चिन्ता भन्ने कुरा नगरौँ भनेर कहाँ थामिने रहेछ र ?’ –उनले उकुसमुकुस सुनाइन् ।
२०६७ मा फेरि बल्झिएको बिमारीले झनै गाँजिइन् उनी । खास बिमारी ढाडको नसा च्यापिएको भए पनि कुनै डाक्टरले अर्कै औषधि दिनाले उनको छाती, नसा, अनुहार सुन्निएर नचिनिने भइछन् । ‘काठमाडौं सोह्रखुट्टेका डाक्टर अरुण क्षितिजले बचाए’ भन्छिन् ।
गत चैत ९ गतेदेखि राजकुमारी वीर अस्पतालको शय्यामा अर्थपूर्ण जीवन खोजिरहेकी छन् । भर्खरै उनको ढाडको अपरेसन पनि भइसकेको छ । तर, ‘जहाँ गहिरो त्यहीँ पहिरो’ भनेजस्तै भएको छ । उनीसँगै काठमाडौं आएकी ६ वर्षकी छोरी सलिनाले आमाको अपरेसन नहुँदै हात भाँचिन् । ऋण खोजेर ल्याएको २५ हजारमध्ये आधाउधी पैसा त्यतै सकियो । भगीरामले भने, ‘मेरी श्रीमतीको एउटा गुन छ हजुर, कहिल्यै दुखेसो, गुनासो गर्दिन । कत्तिले त अर्की ल्या भने, कुनै दिन मेरी जोईपन निकी (सुन्दर) थिई, आज बिमारी भए पनि उसैबाट चार सन्तान छन् ।’
अस्पतालमा भर्ना भएदेखि हुनेसम्मको सेवा र सुविधा पाएकामा सुनार दम्पतीले गुन मानेका छन् । तर, गरिब, दु:खी र दुर्गमवासीका लागि यस्ता रोगको उपचार सित्तैमा गर्ने व्यवस्था सरकारले मिलाई दिए हुने भन्ने चाहना उनीहरूको छ । ल्याएको पैसा सकिएपछि त्यसै वार्डमा नजिक घर भएका बिमारीका कुरुवाले अस्पतालको खाना उनीहरूलाई दिएर सहयोग गरिरहेका छन् । भगीरामलाई दुब्लाएर सिन्कोजस्तै बनेकी श्रीमतीलाई अलि पोसिलो खानेकुरा, फलफूल खुवाउन नसकेकामा खिन्नता हुन्छ । छुट्टिँदा–छुट्टिँदै भगीरामले भने, ‘डाक्टरले निको भइहाल्छ भनेका छन्, अब सन्तोष लागेको छ ।’ अस्पतालको यो लामो यात्राका बारेमा भने उनले एउटै शब्दमा टिप्पणी गरे, ‘हजुर, दुस्मनले पनि अस्पतालको चक्कर काट्नु नपरोस् †’

प्रतिक्रिया