कसैले चाहँदैमा राजीनामा दिन्नँ : गिलानी

लाहोर, १८ वैशाख । पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले आफ्नो पार्टीबाट निर्वाचित हुने कुनै पनि प्रधानमन्त्रीले राष्ट्रपति असिफ अलि जर्दारीमाथिको मुद्दा ब्युँताउन आग्रह गरिएको पत्र स्विस सरकारलाई नलेख्ने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको हैसियतले स्विस सरकारलाई पत्र लेख्न अदालतले दिएको आदेश गिलानीले पटकपटक अस्वीकार गरेका थिए । जर्दारी पाकिस्तानको राष्ट्रप्रमुख भएकाले उनीमाथि देशभित्र अथवा देशबाहिर मुद्दा चलाउनु संविधनसम्मत नहुने भन्दै गिलानीले पत्र लेख्न अस्वीकार गरेका थिए ।
अदालतको आदेश अस्वीकार गरी गिलानीले न्यायालयको मानहानी गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । पाकिस्तानको सर्वोच्च अदालतले उनलाई दोषी ठहर्‍याएको तीन दिनपछि गिलानीको यस्तो कडा भनाइ सार्वजनिक भएको हो । सात न्यायाधीशको संयुक्त इजलासले बिहीबार गिलानीलाई दोषी ठहर गरेको थियो । उनले न्यायिक सर्वोच्चताको खिल्ली उडाएको फैसला अदालतले सुनाएको थियो ।
अदालतले दोषी ठहर गरेपछि विपक्षी दलबाट प्रधानमन्त्रीको राजीनामा माग भइरहँदा गिलानीले आफू प्रधानमन्त्रीको पदमा रहने/नरहने कुरा संसद्ले निक्र्योल गर्ने बताएका छन् । कसैको इच्छाकै भरमा आफूले राजीनामा नदिने उनले प्रस्ट पारेका छन्  । अदालतको फैसलालाई लिएर राजनीति नगर्न उनले विपक्षी दलहरूलाई सुझाब दिएका छन् ।
अदालतले गिलानीविरुद्ध फैसला सुनाएकै दिन विपक्षी दल मुस्लिम लिग नवाजका प्रमुख तथा पूर्वप्रधानमन्त्री नवाज सरिफले गिलानीको राजीनामा माग गरेका थिए । अदालतबाट सजाय पाएका व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा रहनु संसद्को खिल्ली उडाउनुसरह रहेको उनले बताएका थिए । (एजेन्सी)

प्रतिक्रिया