ओलम्पिकका बेला छानामा क्षेप्यास्त्र राखिने

लन्डन, १८ वैशाख । ओलम्पिक खेलकुद प्रतियोगिता नजिकिंदै गर्दा आयोजक देश बेलायतको रक्षा मन्त्रालय सतहबाट हावामा प्रहार गर्ने क्षमता भएका शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न मिल्ने उपयुक्त ठाउँहरूको खोजी र प्रस्तावित स्थानको समीक्षामा लागिपरेको जनाइएको छ ।
एक सम्भावनाअनुसार, त्यस्ता क्षेप्यास्त्र मानिसका निजी घरका छानामा समेत तैनाथ गर्न सकिनेतर्फ पनि गम्भीर सोच भइरहेको छ । पूर्वी लन्डनमा बसोबास गर्ने मानिसमाझ एउटा खास किसिमको पर्चा वितरण गरिएको छ जसमा ओलम्पिकको बेला उनीहरूका घरमा सैनिक बस्ने व्यवस्था मिलाउनुपर्ने उच्च सम्भावना रहेको औंल्याइएको छ । पर्चामा त्यस क्षेत्रमा वितरण हुने पानीको टयांकीमाथि हवाई सुरक्षानिम्ति ‘एअर डिफेन्स सिस्टम’ जडान गर्न सकिने पनि उल्लेख गरिएको छ । मन्त्रालयका एक प्रवक्ताले उक्त वायु–रक्षाप्रणाली सतहमा पनि तैनाथ गर्ने वा नगर्ने भन्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको बताएका छन् ।
पर्चामा उल्लेख भएअनुसार, २ देखि ७ मे–सम्म विशेष प्रशिक्षणका लागि सशस्त्र प्रहरी बललाई त्यस क्षेत्रमा तैनाथ गरिने भएको छ । २ देखि १० मे–बीचको कुनै पनि दिन एउटा ‘बृहत् राष्ट्रिय खेलअभ्यास’ आयोजना गरिनेछ, जसमा सशस्त्र प्रहरी बलद्वारा प्रहरीलाई दिइने सुरक्षा व्यवस्थाको पर्यवेक्षण एवं आँकलन गरिनेछ ।
सरकारले त्यसरी सतह र छानामाथि क्षेप्यास्त्र राख्ने निर्णय गरेमा त्यस क्षेत्रमा विशेष तालिमप्राप्त सैनिकलाई करिब दुई महिनासम्म तैनाथ गरिनेछ । क्षेप्यास्त्र राखिएमा त्यससँगै पूर्ण तालिमप्राप्त एवं पेसेबर सैनिकलाई मात्र तैनाथ गरिनेछ । त्यस्ता सैनिकको उपस्थितिले स्थानीय बासिन्दालाई कुनै खतरा हुनेछैन ।
ती क्षेप्यास्त्रको प्रयोग सुरक्षा–स्थितिप्रति गम्भीर खतरा देखिएमा र सरकारको उच्चतम स्तरबाट आदेश प्राप्त भएमा मात्र गरिने जनाइएको छ । पर्चामा भनिएको छ, ‘हर क्षण क्षेप्यास्त्र र विशेष प्रशिक्षित सैनिक एवं प्रहरीको उपस्थितिले तपाईं आमनागरिकको सुरक्षा स्थिति बलियो हुनेछ र तपाईंहरू आतंकवादीको निसाना पनि बन्नुहुनेछैन ।’ सोही क्षेत्रमा बसोबास गर्ने एकजना पत्रकार ब्रायन वेलन भन्छन्– उनीहरू आउँदो सातादेखि नै सैनिक अभ्यास सुरु गर्दैछन् । यसअघि रक्षा मन्त्रालय सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र दक्षिणपूर्वी लन्डनमा तैनाथ गर्ने सोचमा थियो तर अब भने सो निर्णय परिवर्तन भइसकेको छ ।
बिबिसीकै अर्को एक समाचारअनुसार, ओलम्पिकमा सहभागी हुन आउने खेलाडी एवं पदाधिकारीहरूका लागि तयार गरिने खानपिनमा विशेष सतर्कता अपनाइने भएको छ । यस सम्बन्धमा १० जना वरिष्ठ भोजन सुरक्षा निरीक्षक (फुड सेफ्टी इन्स्पेक्टर) लाई खटाइएको छ जसले ओलम्पियाड चलिरहेको बेला उपलब्ध हुने बेलायती भोजन पूर्णरूपले स्वस्थ रहेको सूक्ष्म निगरानी गर्नेछन् ।
ती निरीक्षकहरूको टोली ओलम्पिक ग्रामका साथै खेलस्थल वरिपरि बेच्न राखिने खाद्यान्नको नियमित निरीक्षणमा व्यस्त रहनेछ । साथै, उपभोक्तालाई पनि सरसफाइबारे जागरुक बनाइराख्नेछ ।
‘फुड स्टयान्डर्ड एजेन्सी’ नामक संस्थाद्वारा गठित उक्त टोलीले कुनै पनि ठाउँमा मानिसको स्वास्थ्यमा नकारात्मक असर देखिन आएमा त्यस्ता ‘फुडस्टल’ सञ्चालकविरुद्ध कठोर कारबाही गरिने जनाएको छ । स्वस्थ एवं सुरक्षित खानाको प्रसंग सहभागी खेलकर्मी र सम्बन्धित पदाधिकारी मात्र नभई ओलम्पिकका बेला लन्डन भ्रमणमा आउने हजारौं पर्यटकसितसमेत प्रत्यक्ष जोडिएको छ । बिबिसी

प्रतिक्रिया