अस्पतालबाटै झुल चोरिएपछि छानबिन सुरु


वीरगन्ज, १८ वैशाख ।    औलो नियन्त्रणका लागि नि:शुल्क वितरण गर्न जनस्वास्थ्य कार्यालय रौतहट पठाइएको सुपानेट झुल बजारमा बिक्री भएको पाइएपछि स्थानीय प्रशसनले छानबिन सुरु गरेको छ ।
अस्पताल कर्मचारीकै मिलेमतोमा मेडिकेटेड सुपानेट झुल भण्डारण कक्षबाट चोरेर रौतहटका कपडा तथा औषधि पसलमा आठ सय रुपियाँका दरले बिक्री गरिएको समाचारसँगै दातृसंस्था पिएसआईको टोली पनि रौतहट आइपुगेको छ । जनस्वास्थ्य कार्यालयले पनि झुल चोरी भएकाले छानबिन गर्न माग गर्दै प्रशासनलाई पत्र लेखेपछि छानबिन सुरु गरिएको हो ।
करिब आठ सय थान झुल अस्पतालको गोदामबाट बाहिर ल्याएर बेचिएपछि पसलेले सर्वसाधारणलाई एक हजार दुई सय रुपियाँमा बेचेको घटनामा जनस्वास्थ्य प्रमुख डा. अखिलेशप्रसाद सिंहको मिलेमतो रहेको प्रशासनको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रमुख सिंहले प्राप्त झुलमध्ये तीन सयभन्दा बढी झुल हराएको बताएका छन् । उनले झुल चोरीमा फाँट प्रमुख नन्देश्वर चौधरीलाई दोष लगाएका छन् । तर, चौधरीले डाक्टर सिंहले नै दातृसंस्थाबाट झुल बुझेर राख्न दिएको र आफू बिदामा रहेको बताए ।
झुल प्राप्त भएको पाँच महिना बित्दा पनि सर्वसाधारणलाई वितरण गर्न सकिएको छैन । ग्लोबल फन्डअन्तर्गत पिएसआईले उपलब्ध गराएको सात हजार चार सय झुलमध्ये हराएको झुलको विषयमा प्रशासनले छानबिन गरेको हो । पिएसआईले धनुषाको जानकी महिला जागरण समाजमार्फत रौतहटका ११ गाविसमा वितरणका लागि झुल दिएको हो ।

प्रतिक्रिया