समूहको रकम बोकर निवर्तमान अध्यक्ष फरार


दाङ, १७ वैशाख । पुरन्धारास्थित देवीडाँडा सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष देवीलाल विक समूहको रकम लिएर फरार भएका छन् । विकले तुलसीपुरस्थित वाणिज्य बैंकको खातामा रहेको समूहको एक लाख १७ हजार रुपियाँ निकासा गरेर फरार भएको समूहका पदाधिकारी र उपभोक्ताले बताएका छन् ।
समूहको खातामा रहेको रकम निकाल्न विकले सचिव तारा भण्डारी र कोषाध्यक्ष नेवबहादुर डाँगीलाई हस्ताक्षर गराएको पाइएको सल्लाहकार रामबहादुर भण्डारीले बताए । ‘११ फागुनमा काठ बिक्रीबाट आएको रकम बैंकमा जम्मा गरेका थियौँ,’ सल्लाहकार भण्डारीले भने, ‘बैंकमा भएको सबै पैसा लिएर फरार भएका छन् ।’
विक गाउँमा छैनन् । समूहका सचिव भण्डारी र कोषाध्यक्ष डाँगी सावा अक्षर चिन्न नसक्ने भएकै कारण यस्तो समस्या आएको उपभोक्ताले बताए । ‘चेकमा के लेखिएको छ, सचिव र कोषाध्यक्षलाई थाहा छैन,’ उपभोक्ता दुर्गाबहादुर खत्रीले भने, ‘चेकमा लेखिएका अक्षर चिन्न नसकेर वनको ठूलो रकम हिनामिना भयो ।’
समूहका कोषाध्यक्ष र सचिवले भने अध्यक्षले १५ हजार रुपियाँ निकाल्ने भनेर ढाँट्दै चेकमा हस्ताक्षर गर्न लगाएको बताएका छन् । निवर्तमान अध्यक्ष विकले आफूहरूलाई फसाएको उनीहरूको दाबी छ । उपभोक्ता प्रेमकुमारी भण्डारीका अनुसार विकले यसअघि पनि अवैध ढंगले समूहको दुई हजार दुई सय क्युफिट सालका काठ काटेर बेचेका थिए । उनले समूहको कुनै पनि कागजपत्र व्यवस्थित नभएको बताइन् । निवर्तमान अध्यक्षसहितका पदाधिकारीले उपभोक्तालाई एक गैरसरकारी संस्थाले दिएको ३९ लाख रुपियाँको समेत हिसाबकिताब दुरुस्त छैन ।

प्रतिक्रिया