सुविधाको गाडी परिवारलाई आफू ट्याक्सीमा


काठमाडौं, १७ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य डा. लीला पाठक सुविधाको गाडी हुँदाहँदै ट्याक्सी चढेर कार्यालय ओहोरदोहोर गर्छिन् । आयोगले दिएको गाडी न उनले फिर्ता गरेकी छन् न त चढ्ने गरेकी छन् ।
आयुक्तले पाउने सुविधाअन्तर्गत डा. पाठकलाई बा.५च ४२९३ नम्बरको स्यान्ट्रो दिइएको थियो । सो गाडी कहाँ र कुन अवस्थामा छ भन्ने आयोगलाई जानकारी छैन । स्रोतका अनुसार आयोगको गाडीमा १० महिनादेखि पाठकका परिवार र आफन्तले मस्ती गरिरहेका छन् । जबकि तेलखर्च भने पाठकले आयोगबाट नियमित बुझ्ने गरेकी छन् । सरकारी गाडी दुरुपयोग भएको विषयमा आलोचना हुन थालेपछि आयोगले ७ वैशाखमा उनलाई पत्र काटेको थियो ।
‘उहाँले गाडी चढ्नुभएको छैन र ड्राइभर पनि लिनुभएको छैन,’ आयोगका सचिव विशाल खनालले सौर्यसँग भने, ‘कि गाडी प्रयोग गर्नुहोला कि कार्यालयमा बुझाउनुहोला भनी ध्यानाकर्षण गराइएको छ ।’
पाठकका लागि आयोगले खटाएको ड्राइभर सन्तबहादुर लामाले एक वर्षअघि राजीनामा दिएपछि उनले अर्को ड्राइभर लिन मानेकी छैनन् । स्रोतका अनुसार डा. पाठकले सुविधाबापत लिएको गाडी उनका परिवार र आफन्तले व्यक्तिगत काममा प्रयोग गर्छन् । पाठकले महिनामा एक सय ५० लिटर पेट्रोलको पैसा भने लिँदै आएकी छन् ।
आयोगले चार महिनाअघि पनि गाडीको सदुपयोग गर्न उनलाई ध्यानाकर्षण पत्र थमाएको थियो । उनले त्यो पत्र कार्यकक्षमै च्यातेकी थिइन् । पछिल्लोपटक गाडीकै विषयमा आयोगले अर्को पत्र काटेको साता बितिसक्दा पनि न उनले गाडी चढ्न थालेकी छन् न त आयोगलाई बुझाएकी छन् । यस विषयमा डा. पाठकको प्रतिक्रिया लिने प्रयास सफल भएन । सौर्य प्रतिनिधिको पटक–पटकको फोन सम्पर्कमा पनि उनी बोल्न चाहिनन् ।
पत्र पठाएको झोकमा उनले गत आइतबार दिउँसो कार्यालयमै आयोगका सचिव खनाल र कर्मचारीमाथि अभद्र व्यवहारसमेत गरेकी थिइन् । पाठकले खनाललाई भ्रष्टाचारी, चोर, डाँका, फटाहा, खातेजस्ता शब्द प्रयोग गरी गाली–बेइज्जत गरेको एक कर्मचारीले बताए । त्यस विषयमा सम्झाउन खोज्दा अन्य कर्मचारीमाथि पनि उनी जाइलागेकी थिइन् ।
गाडीको विषयमा आयोगका सचिव खनालले पत्र काटेपछि डा. पाठकले सचिवलाई भ्रष्टाचारीको आरोप लगाउँदै अख्तियारमा उजुरीसमेत हालेकी छन् । यता, कर्मचारी भने कार्यालयमै विनाकारण गाली, बेइज्जत गरेकामा सार्वजनिक मुद्दा हाल्ने तयारी गरिरहेका छन् । एक कर्मचारीले भने, ‘विनाकारण हामीले किन गाली–बेइज्जत खेप्नुपर्ने ? हामी सार्वजनिक मुद्दा हाल्ने सोचमा छौँ ।’
नियमानुसार आयोगको गाडी लिएपछि कि आफैँले हाँक्नुपर्छ कि आयोगकै ड्राइभर राख्नुपर्छ । पाठकका लागि ड्राइभर नरबहादुर घर्तीलाई तोकिए पनि उनले राख्न मानेकी छैनन् ।

प्रतिक्रिया