‘नेपालमा जापानी लगानी भित्राउन आग्रह’

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री बावुराम भट्टराई र जापानका परराष्ट्र मन्त्री कोईचिरो गोम्बावीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे परराष्ट्रमन्त्री गोम्बालाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रियाको पूर्णता पछि नेपाल आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढ्ने बताउँदै जापानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
२०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको जानकारी गराउदै भट्टराईले भ्रमण बर्ष सफल बनाउन जापानको सहयोग रहने विश्वास व्यक्त गरे । जापानबाट धार्मिक पर्यटक र अन्य पर्यटक भ्रमणका लागि नेपाल आउनेमा पनि भट्टराईले विश्वास व्यक्त गरेका छन् ।
नेपालको आर्थिक विकासका लागि जापानले पुराएको सहयोगको निरन्तरता रहनेमा विश्वास व्यक्त गरेका भट्टराईले जलविद्युत, सडक निर्माण, लुम्बिनीको विकासका क्षेत्रमा सहयोगको अपेक्षा रहेको बताए ।
जापानी लगानीकर्ताहरुका लागि सहज वातावरण बनाउने पनि प्रधानमन्त्री भट्टराईले आश्वासन दिएका छन् ।
जापानी परराष्ट्रमन्त्री गोम्बाले नेपालमा जारी शान्ति र संविधान निर्माण प्रक्रियाको सफलताको शुभकामना दिए । उनले आर्थिक विकासका लागि नेपाललाई सँधै सहयोग गर्न जापान इच्छुक रहेको पनि बताए ।

प्रतिक्रिया