नेवानिको सेवा बन्द गर्ने चेतावनी

काठमाडौं , १७  वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा कार्यरत ट्रेड युनियनका कर्मचारीले निगमको आन्तरिक सेवा बन्द गर्ने चेतावनी दिएका छन् । निगम हितविपरीत काम भइरहेको भन्दै निगमको संयुक्त ट्रेड युनियनले सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेवानि इकाइ) अध्यक्ष राजेन्द्र रेग्मीले निगम डुब्न नदिन सेवा बन्द गर्नुपर्ने अवस्था आएको दाबी गरे । जहाजविहीन अवस्थामा पुग्न लागेको निगमलाई थप जहाज उपलब्ध गराउनुको सट्टा झन् घाटा हुने काम भइरहेकोले आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए । नयाँ जहाज खरिदका लागि प्रक्रिया अगाडि नबढाउने तथा प्रक्रियामा रहेको एयरबस र चिनियाँ जहाज खरिद गर्न ढिलाइ गर्ने जस्ता काम रोक्न उडान बन्द गर्नुपरेको रेग्मीको भनाइ छ ।
निगमसँग भएका आन्तरिक उडान गर्ने ट्विनअटर जहाज निजी विमान कम्पनीलाई भाडामा दिइएकोमा समेत सो कर्मचारी युनियनले आपत्ति जनाएको छ । हाल निगमले दुईवटा ट्विनअटर आफैँले सञ्चालन गरिरहेको छ भने दुईवटाचाहिँ निजी कम्पनी तारा एयरलाई भाडामा दिएको छ । निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएको छ । निगम व्यवस्थापनका अनुसार आन्तरिक सेवा वार्षिक करिब १२ करोड रुपियाँ घाटामा छ । निगमको प्रमुख आयस्रोत मानिएको ग्राउन्ड हयान्डलिङ सेवासमेत निजी कम्पनीलाई सुम्पिने षडयन्त्र भइरहेको कर्मचारी युनियनको आरोप छ । निगम सबल बनाउन निगम व्यवस्थापनसँग बारम्बार वार्ता गरे आफूले उठाएका विषयको सुनुवाइ नभएको रेग्मीले बताए । जहाज खरिद गर्नुपर्ने तथा कर्मचारीले यातायात भत्ता पाउनुपर्ने लगायतका माग युनियनले व्यवस्थापनसमक्ष राखेको छ ।

प्रतिक्रिया