कूटनीतिक पहल आवश्यक

क्यानाडा सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने भएको  छ । आफ्नै नागरिकलाई सुविधा बढाउनका लागि क्यानाडाले विपन्न राष्ट्रलाई दिँदै आएको आर्थिक सहयोग रोकेको जनाएको छ । सन् १९७० देखि नेपाललाई सहयोग गर्दै आएको क्यानाडा नेपालको दाता राष्ट्रमध्ये एक हो । यसले आफूले थालेका पुराना योजनालाई पूरा गर्ने र नयाँ कार्यक्रमका लागि सहयोग नगर्ने जनाउ दिएपछि नेपालले एउटा असल दाताराष्ट्र गुमाएको छ । सन् २०१०/०११ मा नेपालले क्यानाडा सरकारबाट ४५ लाख ५२ हजार तीन सय ६७ डलर प्राप्त गरेको थियो । रकममा थोरै देखिए पनि यो सहयोगराशिले संवेदनशील मानिएका कार्यक्रमलाई अगाडि बढाउन अहं भूमिका खेलेको थियो । अहिले आएर एकाएक सहयोग रोकिने भएपछि ती कार्यक्रमले निरन्तरता नपाउने भएका छन् । ती कार्यक्रमलाई अब कसरी निरन्तरता दिन सकिन्छ, यसतर्फ नेपाल सरकार गम्भीर हुन जरुरी छ ।
दाताराष्ट्र क्यानाडाले आफ्ना नागरिकलाई सुविधा बढाउनका लागि आर्थिक सहयोग रोक्नुपरेको जनाए पनि यसमा अन्य कारण भएको शंका गरिँदै छ । डेढ वर्षअगाडि मात्र एचआइभी/एड्स कार्यक्रमका लागि दिएको ठूलो रकम भ्रष्टाचार भएको भन्दै सहयोग बन्द गरेको थियो । कार्यक्रम नै नगरी एचआइभी/एड्सका लागि दिएको रकम कर्मचारी मिलेर खाएको समेत त्यसताका पुष्टि भएको थियो । शिक्षा, कृषि र लोकतन्त्रको सुदृढीकरणका लागि गरेको सहयोग पनि दुरुपयोग भएको हुँदा सदुपयोग गर्दै उक्त कार्यक्रम लक्षित वर्गसम्म पुर्‍याउन क्यानाडा सरकारले बारम्बार आग्रह गरेको थियो । तर, नेपाल सरकार र कर्मचारीतन्त्रले उक्त आग्रहलाई बुझ्न सकेन । सहयोग बन्द गर्नाको कारण यो पनि हो भन्न सकिन्छ । तर, सधैँ परनिर्भरतामा बाँच्न सकिँदैन । आत्मनिर्भरता र स्वावलम्बनजस्ता पक्षलाई अग्रभागमा राखेर नेपाल सरकार अगाडि बढ्नुपर्छ ।
विभिन्न मित्रराष्ट्रले दिएको सहयोगलाई निर्दिष्ट कार्यक्रममै पारदर्शी ढंगले खर्च नगर्ने र सम्बन्धित लक्षित समूहसम्म कार्यक्रम नै नपुर्‍याउने नेपालमा चलन नै बसालिएको छ । दाताहरूले यस्ता प्रवृत्ति नरुचाउनु स्वाभाविक हो । आफू आत्मनिर्भर पनि हुन नसक्ने र दाताबाट प्राप्त सहयोग सदुपयोग गर्न पनि नसक्ने भएपछि सहयोग बन्द हुनु अस्वाभाविक होइन । दाताले आफूले उपलब्ध गराएको सहयोग सदुपयोग भएमा मात्र निरन्तरता दिन्छ, अन्यथा उसले बालुवामा पानीजसरी पैसा खन्याउँदैन । क्यानडाले १९ वटा जातीय र क्षेत्रीय संघ/संगठन र संस्थालाई उपलब्ध गराएको सहयोगमध्ये केही जातीय संगठनलाई दिएको सहयोग गत वर्ष नै बन्द गरेको थियो । भ्रष्टाचार, अनियमितता र बेथिति रोक्न साथै बारम्बार कार्यक्रमको नेतृत्व परिवर्तन नगर्न क्यानाडाले अनुरोध गरेको थियो । तर, नेपाल सरकार कानमा तेल हालेर बस्यो, जसले क्यानाडा सरकारले नेपाललाई दिँदै आएको रकम बन्द गर्न सहयोग पुर्‍यायो । अब क्यानाडाले उपलब्ध गराएको सहयोगबाट सञ्चालित कार्यक्रमलाई नेपाल सरकारले निरन्तरता दिनुपर्छ । र, नेपाल सरकारले पनि क्यानाडा सरकारलाई सहयोग निरन्तरताका लागि कूटनीतिक ढंगबाट पहल गर्नुपर्छ ।

प्रतिक्रिया