जर्नेलको एल्बम निकाल्न सेनाको स्रोत–साधन

काठमाडौं, १७ वैशाख । नेपाली सेनाका प्रवक्ता सहायक रथी रमीन्द्र क्षेत्रीले आफ्नो म्युजिक भिडियो ‘जीवन सुन्दर छ’ बनाउन जनशक्तिदेखि उपकरण र आर्थिक स्रोत सेनाको प्रयोग गरेको रहस्य खुलेको छ ।
सैनिक स्रोतका अनुसार क्षेत्रीले म्युजिक भिडियो निर्माण गर्न नेपाली सेनाको मनोवैज्ञानिक कार्य महाशाखालाई निजी अडियो–भिडियो उत्पादन केन्द्रका रूपमा उपयोग गरेका थिए । ‘माटोले माग्दैन, आफँले दिनुपर्छ’ कार्यक्रम उत्पादन गर्ने सो महाशाखामा कार्यरत सैनिकले दुई वर्षदेखि म्युजिक भिडियो निकाल्ने काम गरेका थिए ।
जर्नेल क्षेत्रीले सैनिक जनशक्ति मात्र होइन, म्युजिक भिडियो निर्माण गर्दा प्रयोग हुने क्यामेरा, कम्प्युटर, क्यासेट र टेप पनि नेपाली सेनाकै प्रयोग गरेका स्रोतको दाबी छ । खाजा खर्च र सुटिङ स्पटमा पुग्दा लाग्ने खर्चसमेत नेपाली सेनाकै कोषबाट बेहोरिएको सैनिक स्रोत बताउँछ ।
सैनिक उच्च स्रोतका अनुसार सो एल्बमको निर्देशन क्याप्टेन विशेष पौडेलले गरेका छन् भने प्राविधिक सुबेदार रमेश पुडासैनी र राजेश गुरुङले छायांकन गरेका छन् । म्युजिक भिडियोमा क्याप्टेन कृति देवान र सृष्टि खड्काले कलाकारको भूमिका निभाएका छन् ।
उनको सो एल्बममा १६ वटा भिडियो–गीत संगृहीत छन् । जर्नेल क्षेत्रीले सो एल्बम तल्लो तहसम्मका सैनिकलाई प्रतिएल्बम पाँच सय रुपियाँमा खरिद गर्नुपर्ने सर्कुलर पनि गरेको स्रोतको दाबी छ । अपांगता भएका सैनिकलाई सहयोग गर्ने भनेर प्रतिसिडी पाँच सयमा खरिद गर्नुपर्ने सर्कुलर सेनामा भइसकेको एक अधिकारीले सौर्यलाई बताए । ‘सेनाको एउटा गणमा कम्तीमा सात सय ५० सैनिक हुन्छन्, प्रत्येकलाई एल्बम खरिद गर्न लगाउने हो भने एउटा गणले तीन लाख ७५ हजार बुझाउनुपर्छ,’ स्रोतले भन्यो ।
‘सेनामा कार्यरत सामान्य कर्मचारीले पाँच सय रुपियाँ तिर्न मुस्किल पर्छ । सामान्य कर्मचारीले करबलमा पाँच सय रुपियाँ कसरी तिर्ने ? नकिने कारबाही हुन्छ, किने मनले मान्दैन,’ एक सैनिक जवानले भने ।
स्रोतका अनुसार एल्बमको बजारमूल्य दुई सय ५० रुपियाँ रहे पनि पाँच सयमा खरिद गर्न भनेर देशभरिको सबै युनिटमा परिपत्र मात्र भएको छैन केही गणपति र गुल्मपतिलाई फोन सम्पर्क गरेर क्षेत्रीले सो ब्यारेकमा रहेका संख्याअनुसारको एल्बम बिक्रीका लागि पठाएका छन् । सेनाको सम्पत्ति प्रयोग गरी निकालिएको म्युजिक भिडियो प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङले नै सार्वजनिक गरेपछि सेनामा असन्तुष्टि बढेको छ । ‘कानुनविपरीत काम गर्नेलाई कारबाही गर्नुपर्नेमा चिफसाबबाट प्रोत्साहन भयो,’ एक कर्नेलले भने ।
जर्नेल क्षेत्रीले म्युजिक भिडियो बनाउन सेनाकै जनशक्ति र उपकरण प्रयोग गरेको स्वीकारे । उनले कतव्र्यपालनका क्रममा अंगभंग भएका सैनिकका लागि कोष स्थापना गर्न आफूले म्युजिक भिडियो बनाएको बताए । आफूले हेडक्वार्टरसँग स्वीकृति लिई सेनाको सम्पत्ति र जनशक्ति प्रयोग गरिएको पनि दाबी गरे । ‘दुईवटा सिडी र एउटा म्युजिक भिडियोको पाँच सय रुपियाँ भनिएको हो,’ क्षेत्रीले भने, ‘खरिद गर्ने इच्छा हुनेहरूका लागि मात्रै सर्कुलर गरिएको हो ।’

प्रतिक्रिया